प्रदर्शनकारीले घेरेपछि श्रीलंकाका राष्ट्रपति निवासबाट भागे

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण
प्रदर्शनकारीले घेरेपछि श्रीलंकाका राष्ट्रपति निवासबाट भागे

राष्ट्रपति निवास कब्जापछि स्वीमिङ पुलमा नुहाउँदै आन्दोलनकारी ।

हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन्। शनिबार निवासबाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ।

राष्ट्रपतिनिवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ। यसअघि आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका वेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ। 

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्यु कार्यान्वयनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्।  

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन्। उनले आर्थिक संकट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाइ छ। आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन्। उनले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने उनीहरूको विश्वास छ। 

सुझावित समाचार