लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

ट्राफिक प्रहरीले राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई गरिने कारबाहीमा तीव्रता बढाएको छ। दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिए । 'सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौँ,' उनले भने । 

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रो पटकदेखि रु एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । यस आवमा १२,८६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरीले सिसिटिभी, ग्रोप्रो क्यामेरा, बडिवन क्यामराबाटसमेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएको छ । लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण सडक दुर्घटना हुने भएकाले लेनको सही प्रयोग गरेर सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
 

सुझावित समाचार