संकटोन्मुख अर्थतन्त्रबारे प्रधानमन्त्री र परिसंघबीच छलफल

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी देशको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल गरेको छ ।  परिसंघले देशको पछिल्लो आर्थिक अवस्था, सुधारका कदम र बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  

लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय सञ्चिति, लगानी प्रवद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रूपमा लिइनुपर्ने नीतिका विषयमा पनि छलफल भयो । यस्तै, विश्वव्यापी रूपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको परिसंघले जनाएको छ । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराए । तरलता अभावका कारण नयाँ उद्योगमा लगानी हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा पनि उनले सुझाव दिए । उनले आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषय पनि प्रधानमन्त्रीलाई जानकारी गराए । परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिकसम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँदै युवाहरूमा उद्यमी बन्ने चासो निकै बढेको अध्यक्ष अग्रवालले जानकारी गराए । उक्त फेस्टमा पाँच हजार युवाहरूको सहभागिता रहेको थियो भने सातवटा उत्कृष्ट स्टार्टअपका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न पनि परिसंघले आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भीर रूपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए । 

सुझावित समाचार