मौद्रिक नीतिको पर्खाइमा नेप्से, कारोबार रकम घट्दै

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

नेप्से परिसूचक १६ दशमलव ६० अंकले घटेर दुई हजार २७ दशमलव ३२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ बिन्दुमा आइपुगेको छ । अन्तरदिनको कारोबार अवधिभर लगानीकर्ताले संयमता अपनाउन नसक्दा नेप्से ओरालो लागेको हो । सुरुवातमा उक्लिने प्रयासमा देखिएको बजार अन्तिम अवस्थामा घटेर बन्द भएको हो ।

पछिल्लो हप्तादेखि सेयर बजारमा उत्तारचढाव आइरहनुमा लगानीकर्ता मौद्रिक नीतिको पखाईमा देखिएको अनुमान गर्न सकिने ब्रोकर बताउँछन् । लगानीकर्ता मौद्रिक नीतिमार्फत नीतिगत सुधारको अपेक्षा राख्दा बजारमा उत्तारचढाव आएको एक ब्रोकरले बताए । लगानीकर्ताले आन्दोलन नै गरेर पुँजी बजारको नियामक निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् । 

त्यसैले पनि अहिले लगानीकर्ता मौद्रिक नीतिको मुख्य पखाईमा देखिँदा त्यसको असर सेयरमा देखिएको हो । अर्कोतर्फ असार मसान्तको समय भएकाले पनि लगानीकर्तालाई कर तिर्नुपर्ने दबाब थपिएको छ । त्यसैले पनि केही मूल्य घटेरै भए पनि लगानीकर्ताले ब्याज तिर्ने पैसाको जोहो गर्नका लागि सेयर बिक्री गरेका हुन् । 

 कारोबार रकम घट्दो
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ४७ लाख ११ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । गएको सोमबार चार अर्ब रुपैयाँको सेयर कारोबार भएको बजार बिहीबार आइपुग्दा करिब दुई अर्बभन्दा बढीले घट्न पुगेको छ । मंगलबार, बुधबार पनि सेयर कारोबार सोमबारको तुलनामा घट्दै गएको थियो । घट्दो कारोबार रकमले लगानीकर्ता बजार प्रवेश गर्न तथा लगानी बढाउन हतार गरेका छैनन् भन्ने देखिन्छ । बिहीबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, अरुण काबेली पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको पाँच करोड रुपैयाँदेखि सात करोड ६५ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

बजार घट्दा बिहीबार एक सय ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । समिट लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथि लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, युनाइडेट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य तीन दशमलव ६४ प्रतिशतदेखि पाँच दशमलव २० प्रतिशतसम्मले घटेको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूचकमा म्युचुअल फन्ड समूहको सूचक सामान्यले बढ्दा बाँकी समूहका सूचक घट्न पुगे । पाँच समूहको सूचक १ प्रतिशतले घटेको छ भने अन्य सात समूहको सूचक सामान्यले घट्न पुगेको छ । त्यस्तै, घटेको बजारमा पनि सामान्य नाफा कमाउन सफल भएका आरबिबी म्युचुअल फन्ड, माउन्टेन हाइड्रो नेपाल र सिटिजन म्युचुअल फन्ड ३ प्रतिशतदेखि करिब ४ प्रतिशतले बढेको छ ।

सुझावित समाचार