काठमाडौं महानगर कार्यपालिका बैठकमा प्रमुख र वडाध्यक्षबीच सवालजवाफ

आफ्नो वडाको फोहोर व्यवस्थापनबारे मेयर साहले मागे जानकारी

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण
काठमाडौं महानगर कार्यपालिका बैठकमा प्रमुख र वडाध्यक्षबीच सवालजवाफ

बालेन्द्र साह, प्रमुख काठमाडौं महानगरपालिका

फोहोरमैला व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाले गम्भीर ढंगले काम गर्न नसकेको भन्दै वडाध्यक्षहरूले मेयर बालेन्द्र साहको आलोचना गरेका छन् । मंगलबार बसेको नगर कार्यपालिका बैठकमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले फोहोरको सम्बन्धमा महानगरले केही पनि गर्दैन भन्ने जनगुनासो आएको भन्दै फोहोरमैला व्यवस्थापन सम्बन्धमा बनेको समितिमाथि नै प्रश्न गरे ।

‘फोहोरमैला व्यवस्थापनका लागि गठन गरिएको समितिले तीन दिनभित्र नतिजा दिन्छ भन्ने कुरा आएको थियो । तर, तीन महिनामा पनि नतिजा आउला जस्तो लागेन । समिति गठन गरेर फोहोरको समस्या समाधान गर्नुहोला भन्ने आस जनताले गरेका छैनन्,’ कार्कीले भने, ‘फोहोरको राजनीति गरेर जनतालाई फोहोरको डंगुरमा राख्ने कुन–कुन शक्ति हुन् ? फोहोरको समाधान नभएमा त्यसलाई जनताले छोड्नेछैनन् ।’ उनले बाटोका कारण फेरि बन्चरेडाँडामा फोहोर नगएको भन्दै वडालाई पठाउने पैसा कटौती गरेर भए पनि बाटोको समस्या समाधान गर्न आग्रह गरे । 

वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले काठमाडौंलाई हराभरा र फोहोरमुक्त बनाउने विषय आफूलाई विश्वास नभएको भन्दै टेकु ट्रान्सफर स्टेसनको समस्या समाधान गर्न मेयर र कार्यकारी अधिकृतले आश्वासन दिए पनि काम भने नगरेको आरोप लगाए । ‘टेकु ट्रान्सफर स्टेसनमा फोहोर ल्याउने काम मात्र भयो । बाहिर लैजाने काम भएन । स्थानीय टेकु स्टेसन बन्द गर्छु भन्छन्,’ महर्जनले भने, ‘प्रमुख र कार्यकारी अधिकृतले फोहोर व्यवस्थापनका लागि गाडी पठाउने भनिए पनि अहिलेसम्म गएन । जसका कारण टेकुको फोहोर कहिल्यै पनि नसकिने भयो । फोहोरको आवाज उठ्ने, तर काम नहुने भयो ।’

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अन्य १८ वटा स्थानीय तहको फोहोरको जिम्मा महानगरले लिन नहुने बताए । ‘फोहोर हाम्रो हो कि राज्यको ? फोहोर महानगरको मात्र हो कि नेपाल सरकारको गौरवको आयोजना हो ? सरकारको गौरवको आयोजना हो भने अहिलेसम्म फोहोरको अवस्था के हो ? महानगरले व्यवस्थापन गर्न सक्ने भए गर्ने, होइन भने मन्त्रालयको कुरा हो यो । सधँै जनप्रतिनिधिलाई तनाव दिने होइन,’ उनले भने, ‘१८ वटा नगरपालिकाको फोहोर जिम्मा काठमाडौं महानगरले बोकिरहने होइन । हामी आफैँ टोलटोलमै फोहोर व्यवस्थापन गरौँ । ३२ वडाको ६ सय टन फोहोर व्यवस्थापन गरौँ । फोहोर व्यवस्थापनका लागि महानगरको मात्र व्यवस्थापन गर्न नीति बनाऔँ ।’

फोहोर व्यवस्थापनमा आफूले गरेको काममा धन्यवादसमेत नदिएको मेयरको गुनासो
वडाध्यक्षहरूको प्रश्नको जवाफ दिँदै मेयर साहले टेकुको दुर्गन्ध नियन्त्रणका लागि धेरै काम भए पनि आफूले धन्यवादसमेत नपाएको भन्दै फोहोर व्यवस्थापनका लागि वडाध्यक्षले आफ्नो वडामा के–के काम गर्नुभयो भन्दै प्रतिप्रश्न गरे । ‘टेकुको दुर्गन्धको नियन्त्रणका लागि धेरै काम भयो । तर, धन्यवाद कहिल्यै भन्नुभएन । फोहोर व्यवस्थापनका लागि १२ वटा गाडी पठाइयो । तर, धन्यवाद कहिले पनि भन्न सक्नुभएन । फोहोर व्यवस्थापनका लागि तपाईंले आफ्नो वडामा के गर्नुभयो ?,’ उनले प्रश्न गरे ।

साहले तीनपिप्लेदेखि उताको बाटो निर्माणको काम भइरहेको र महानगरभित्रै फोहोर व्यवस्थापनका लागि काम भइरहेकोसमेत बताए । ‘अहिले तीनपिप्लेदेखि उताको बाटो निर्माणको काम हुँदै छ । हामी फोहोर पनि लैजाँदै छौँ । बत्ती पनि जडान गरिदिनुपर्नेछ, त्यसका लागि पनि समन्वय गरिरहेका छौँ । सबैतिर समस्या छ । समाधानका लागि फोहोरमैलासम्बन्धी समिति पनि बनाएका छौँ,’ मेयर साहले भने, ‘महानगरको ६ सय टन फोहोर व्यवस्थापन हामी आफैँ गर्दै छौँ । अग्र्यानिक मल बनाउँदा सबैभन्दा फाइदाजनक देखिएको छ । त्यसका लागि खाली जग्गा आवश्यक छ । २२० देखि २५० रोपनी जग्गाका लागि छलफल हुँदै छ ।’ मंगलबारको बैठकमा फोहोरमैला व्यवस्थापन, कर्मचारी व्यवस्थापन, फुटपाथ व्यवस्थापनलगायत विषयमा वडाध्यक्षहरूले जिज्ञासा राखेका थिए । 

सुझावित समाचार