बाग्लुङका ४९ खानेपानी मुहानमा मानव दिशामा पाइने कीटाणु

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

बाग्लुङ जिल्लाका दशवटै स्थानीय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिसामा पाइने कीटाणु (कोलिफर्म) भेटिएको छ। स्वास्थ्य कार्यालय बाग्लुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परीक्षणमा जिल्लाका ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो। 

आर्थिक वर्ष ०७८/७९ को सुरुदेखि परीक्षण गरिएको जिल्लाभरका १ सय ११ खानेपानीका मुहानमध्ये ४९ वटा मुहानमा दिसामा पाइने कीटाणु ‘कोलिफर्म’ भेटिएको छ भने ६२ वटा पानीको मुहानमा शुद्ध खानेपानी रहेको स्वास्थ्य कार्यालय बाग्लुङका कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए।

अधिकांश मुहानमा पानी शुद्ध पार्ने विधि नै छैन

दश स्थानीय तहमध्ये ढोरपाटन नगरपालिका र गलकोट नगरपालिका बाहेक अन्य स्थानीय तहमा परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढी मुहानमा कोलिफर्म भेटिएको हो। जिल्लामा सबैभन्दा बढी परीक्षण बाग्लुङ नगरपालिकामा १७ स्थानमा गरिएको थियो। जसमा १० स्थानका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटिएको छ। 

जैमिनी नगरपालिकामा १० स्थानमा परीक्षण गर्दा ७ स्थानमा ‘कोलिफर्म’ भेटिएको गुरौले बताए। जिल्लाको ताराखोला गाउँपालिकाका १६ वटा मुहानको खानेपानी परीक्षण गरिएको थियो जसमा ७ स्थानमा ‘कोलिफर्म’  भेटिएको छ। 

गलकोट नगरपालिकामा १२ स्थानमा परीक्षण गरिएकोमा ३ स्थानमा भेटिएको छ भने ढोरपाटन नगरपालिकामा ७ स्थानमा परीक्षण गरिएकोमा २ स्थानमा देखिएको छ। जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा ११ स्थानमा परीक्षण गर्दा ४ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ भने निसीखोला गाउँपालिकामा ८ स्थानमा परीक्षण गर्दा ४ स्थानमा भेटिएको छ। 

बडिगाड गाउँपालिकामा ९ स्थानमा परीक्षण गर्दा ३ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ भने बरेङ गाउँपालिकामा १२ स्थानको मुहानको पानी परीक्षण गर्दा ४ स्थानमा र काठेखोला गाउँपालिकामा ९ स्थानमा परीक्षण गर्दा ५ स्थानमा ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोलिफर्म’ भेटिएका अधिकांश मुहानमा पानीलाई कसरी शुद्ध पार्ने त्यो विधि पनि अपनाइएको छैन। 

सुझावित समाचार