किर्तेसम्बन्धी अभियोग लागेका काठमाडौं महानगरपालिका- ४ का वडाध्यक्ष दिनेश महर्जनलाई प्रहरीले बिहीबार अदालतमा पेस गरेको छ । काठमाडौं जिल्ला अदालतले उनीसँग डेढ लाख धरौटी माग गरेको छ ।
किर्ते गरेर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा महर्जनसहित काठमाडौं– ४ का निवर्तमान अध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडासदस्य ध्रुव त्रिपाठीविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दा दायर भएको थियो । फरार प्रतिवादी बनाई गत साता मुद्दा दायर भएकोमा महर्जनलाई प्रहरीले बिहीबार अदालत उपस्थित गराएको हो । जिल्ला न्यायाधीश कृपाशुर कार्कीको इजलासले उनीसँग डेढ लाख धरौटी माग गरेको हो ।
०७७ को असारमा स्थानीय ९६ वर्षीया चिजमाया लिम्बूको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको हो । उनको नाममा हस्ताक्षर गरेर अन्य व्यक्तिले नै वृद्धभत्ता लगेको खुलेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यतिवेला विष्ट वडाध्यक्ष र महर्जन र त्रिपाठी वडासदस्य थिए ।
भत्ता हिनाहिनाबारे गुनासो गर्न जाँदा वडाका कर्मचारीले दुर्व्यवहार गरेपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो । प्रहरीमा उजुरी परेपछि वडा कार्यालयले गल्ती स्वीकार गर्दै वृद्धाको बैंक खातामा पैसा राखिदिएको थियो । यो विषयमा पीडितले अख्तियारमा पनि उजुरी गरेका छन् । मुद्दा दायर भएका अन्य दुई भने फरार नै छन् ।