\'दुई तहको संघीयताबारे बहस गर्ने वेला भयो\'

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको उनले बताए । 

उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुनै एक खम्बा झिकेर अरू खम्बालाई बचाउन नसकिने बताए । उनले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताए। राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको उनले बताए । 

‘संघीयता जुन खालको कल्पना गरेर हामीले लागू गर्ने प्रयत्न गर्यौँ, त्यो खालको रिजेल्ट अथवा जनताको अपेक्षाअनुसार त हामीले संघको मात्र होइन प्रदेशको कार्यान्वयनको क्रियाकलाप हामीले देखेनौँ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउँछौँ त भन्यौँ हामीले सिंहदरबारको विकृति पनि त गाउँमा पुर्याएका छौँ नि,' उनले भने, 'जुन आशा पब्लिकले गरेका थिए, संघीयताबाट त्यो कुनै प्रतिफल पाइएन भन्ने मेरो निष्कर्ष हो । म के जोड दिन चाहन्छु भन्दाखेरी अब यो तीन तहको संघीयताको आवश्यकता छ कि छैन ? दुई तहको संघीयताको बारेमा बहस गर्ने वेला भयो भन्ने मेरो निष्कर्ष हो ।’

सुझावित समाचार