मन्त्री आलेले दिए आफैँलाई ९० प्रतिशत अंक

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

झन्डै नौ महिनाको कार्यकाल समीक्षा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफैँलाई ९० अंक दिएका छन् । जनताले एक्सन मन्त्रीको उपमा दिएअनुसार आफूले ऊर्जाका साथ काम गरेको उनको जिकिर छ । ‘म प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ, मलाई चाँडै रिजल्ट चाहिन्छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनतालाई छिटो–छरितो सेवा कसरी प्रवाह गर्ने भन्ने विषयलाई मैले उच्च प्राथमिकता दिएर काम गरेँ ।’ 

नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाईजहाज र हेलिकोप्टरको बेस स्थानान्तरणलगायतका काममा अदृश्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब तथा प्रलोभनहरू आएको पनि उनले खुलासा गरे । 

‘यसअघि निजी एयरलाइन्स कम्पनीहरूले आफूले भनेको मान्ने मान्छेलाई मन्त्री, सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणको डिजी, निगमको महाप्रबन्धक बनाउन लबिङ गर्थे र आफ्नो अनुकूल काम पनि गराउँथे,’ उनले भने, ‘यसपटक अपवाद भयो, उनीहरूले चाहेजस्तो गर्न खोजे पनि सकेनन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम बजारमा जाने नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र सात दशकपछि सञ्चालनमा आएको भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो उपलब्धिका रूपमा सधैँ सम्झिरहने आलेले बताए । त्यस्तै, त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा र रात्रि उडान सुविधा भएका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थल १८ घन्टा सञ्चालनमा ल्याएको पनि उनले बताए । 

निगमले ९ वैशाखदेखि रियादमा हप्ताको दुई दिन नियमित उडान सुरु गरेको, कोभिडपछि बन्द–स्थगित भएका अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भएको, गौतम बुद्ध विमानस्थलमा १५ वैशाखमा वाइडबडी जहाजलाई सफल अवतरण गराएको, निगमले इतिहासमा नै पहिलोपटक डिजी सर्टिफिकेसनको प्रमाणपत्र पाई खतराजन्य पदार्थहरू ओसारपसार गर्न सुरु गरेको, मध्यपूर्व तथा खाडी मुलुकमा जाने नेपाली श्रमिकलाई निगमको काउन्टरबाट टिकट लिने पहिलो ४० यात्रुलाई हवाई भाडामा छुट दिएको पनि आलेले आफ्नो कार्यकालका उपलब्धिको सूचीमा समावेश गरेका छन् ।

पशुपतिनाथवरिपरि खाली भित्ताहरूमा सौन्दर्यकरणका लागि चित्रलेखन तथा रङरोगन र सरसफाइ गरिएको, भूकम्पबाट क्षति भएका नौ सय २० सम्पदामध्ये ०७८ साउनदेखि हालसम्म ६ सय ५६ सम्पदा  पुनर्निर्माण सम्पन्न भएको, अनधिकृत रूपमा विभिन्न समयमा विदेश लगिएका सांस्कृतिक चल सम्पदा नेपाल फिर्ता ल्याउने क्रममा हालसम्म ८६ वटा मूर्ति तथा अन्य पुरातात्विक वस्तु फिर्ता गरेको र थप ३० वटा फिर्ता ल्याउने क्रममा रहेको पनि उनले जानकारी गराए ।

ग्रेट हिमालयन ट्रेलअन्तर्गत चालू आवमा एक सय २० किमि हिमाली पदमार्ग निर्माण सम्पन्न भएको, एक प्रदेश एक पर्यटकीय गन्तव्य कार्यक्रमअन्तर्गत सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पञ्चासे, जगदीशपुर, रारा, घोडाघोडी पर्यटकीय गन्तव्यको विस्तृत परियोजना प्रतिवेदन तयार भएर कार्यान्वयनको चरणमा रहेको पनि उनले बताए । उनले आफ्नो कार्यकालमा क्यासिनोको ९३ करोड १० लाख रुपैयाँ बक्यौता रकम असुली भएको पनि जानकारी गराए । 

See More On

सुझावित समाचार