खेतबारीमा व्यस्त हुने चितवनका किसान मलको पर्खाइमा

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

राधिका दवाडी क्यान्सरपीडित हुन् । उनको आठ वर्षअघि स्तनको क्यान्सरको अप्रेसन गरेको थियो । खेती किसानीविना उनको गुजरा चल्दैन । १० कठ्ठा आफ्नो र अरूको १५ कठ्ठा ठेक्कामा लिएर खेती गर्दै आएकी उनी शनिबार बिहानै घरनजिकै भरतपुर १३, ब्रह्मपुरीको बह्मज्योति कृषि सहकारी संस्थामा भेटिइन् ।

‘सन्तानलाई बिस्तारामा नै छाडेर गाईभैँसी भोकै राखेर मल लिन आएकी हुँ,’ उनले नयाँ पत्रिकासँग भनिन्,  ‘हप्तौँ भयो घरको काम बिताएर मल बिक्री केन्द्र धाएको, आजचाहिँ १० किलो मल पाइयो ।’ उनलाई कम्तीमा पनि दुई बोरा मल चाहिएको थियो, तर सहकारीमा जम्मा २० बोरा मल आएपछि सेयर सदस्यलाई नागरिकता वा लालपुर्जा हेरेर १० केजीको दरमा मल वितरण गरिएको थियो । 

संस्थाका अध्यक्ष बलराम पौडेलका अनुसार एक सय ६० जना सेयर सदस्य रहेको सहकारीमा सबैलाई वितरण गर्दा ६ केजी मात्र पुग्ने भएपछि पहिला आउने सय जनालाई १० केजीको दरमा मल वितरण गरिएको हो । अब सहकारीमा मल कहिले आउँछ भन्ने टुंगो छैन । असार १५ गते रोपाइँ दिवस मनाइन्छ । मानो रोपेर मुरी फलाउने यो समयमा किसान बारी छाडेर मलको लाइनमा भौँतारिन बाध्य छन । धानको बिउमा युरिया, धान रोप्ने वेलामा डिएपी र पोटास अनि धान गोडेपछि पुनः युरिया मल आवश्यक पर्छ ।

मकैमा रासायनिक मल हाल्न नपाएका यहाँका किसान धानमा पनि मल हाल्न नपाउने हो कि भन्ने चिन्तामा छन् । दुई सय ५० बोरा मल हुने भए यस सहकारीमा आबद्ध एक सय ६० जना किसानलाई मल पुग्ने अध्यक्ष पौडेल बताउँछन् । ‘फागुनदेखि यो सहकारीमा मल आएको छैन । युरिया र पोटास कहिले पाउने हो भन्ने टुंगो छैन,’ उनले भने, ‘निकै संघर्ष गरेर २० बोरा मल ल्याएका छौँ, अब सहकारीमा मल आउँछ कि आउँदैन भन्ने मलाई थाहा छैन ।’ 

धानको बिउमा मल हाल्न नपाएको बताउँदै राधिका दवाडीले भनिन्, ‘मल नहाले उत्पादन हुँदैन, बिघाको १४ क्विन्टलका दरले साहुदाई तिर्नुपर्छ । ट्याक्टर शुल्क, बिउको शुल्क बढिरहेको छ । तर, पैसा तिर्दा पनि मल पाइँदैन । बरु यहाँ पैसा भयो भने सुन किन्न सजिलो छ, सुन किन्न लाइन बस्नुपर्दैन, जानेबित्तिकै पाइन्छ । मल किन पैसा बोकेर लाइनमा बस्दा पनि पाइएको छैन । म क्यान्सर रोगबाट बाँचेर आएँ । तर, राज्यले नै हामी गरिब किसानलाई मार्ने भयो । किसानको पीडा सम्झदा रुन मन लाग्छ ।  भोट दिएर चुनाव जिताएकालाई मलका लागि सहज वातावरण बनाइदिन उनको अनुरोध छ । 

किसानले रासायनिक मल सजिलैसँग पाउन नसकेको धेरै वर्ष भइसकेको छ ।  अरूको दुई बिघा जमिनमा खेती गर्दै आएकी सीता लामिछानेको पनि उस्तै समस्या छ । उनी भन्छिन्, ‘१० केजी मलले के गर्ने ? मकैमा पनि मल हाल्न खोज्दा पाइएन । दर्जनभन्दा बढी सहकारीमा डुलिसकेँ, मल पाएको छैन । हामी खेतमा रमाइने किसानलाई राज्यले के गरेको ?’ 

मल वितरण गर्नै असहज

शुक्रबार करिब आठ महिनापछि तीन सय १५ जना सेयर सदस्य भएको भरतपुर– ६ को सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाले पनि २० बोरा डिएपी मल पायो । तर, थोरै मल प्राप्त भएपछि मल वितरण गर्न असहज हुने सम्भावनाले सहकारीले मल वितरण गरेको छैन । सहकारीका व्यवस्थापक राजु पौडेल सय बोरा मल नभई वितरण गर्न असहज हुने बताउँछन् । ‘मल वितरण हुने भन्ने जानकारी भएपछि अरिँगालको गोलामा ढुंगा हान्दा अरिँगाल आएजस्तै गरी किसान आउनुहुन्छ । भिड व्यवस्थापन गर्नै सकिँदैन,’ उनले भने, ‘त्यही पनि २० बोरा मल तीन सयभन्दा बढी सदस्यलाई कसरी वितरण गर्ने ?’ 

कृषिप्रधान देश नेपालमा मल नपाएपछि बाध्य भएर भारतबाट मल किन जाने नेपाली किसानले समेत सीमामा खटिएका नेपाली सुरक्षाकर्मीद्वारा लाठी खानुपरेको छ । चैतेधानका लागि गत फागुनमा भारतको सिमाना पर्सामा ठोरीमा मल लिन पुगेका भरतपुर– ६ का विकास ओझालाई प्रहरीले लाठी लगायो । ‘आफ्नै घरको प्रयोजनका लागि एक बोरा डिएपी र एक बोरा युरिया मल लिन गएको थिएँ, प्रहरीले मल नै जफत गरेर लाठी लगायो,’ उनले दुःखेसो पोख्दै भने, ‘बरु भारतीय सुरक्षाकर्मीले पो रोकतोक गर्नुपर्ने हो, आफ्नै देशका सुरक्षाकर्मीबाट पीडामा परेँ,’ उनले भने, ‘बाटोमा बसेका सुरक्षाकर्मीलाई पैसा दिएर सेटिङ मिलाउनुपर्ने रहेछ । त्यसवेला जानिएन । यसपटक नेपाल सरकारबाट मल नपाए सीमामा सेटिङ मिलाएर भए पनि मल ल्याउँछु, वर्षभरि खाने अन्न त उत्पादन गर्नुपर्‍याे ।’ 

सुझावित समाचार