धनाढ्य खेलाडी केमा खर्चन्छन् कमाइ ?

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

लियोनल मेसी
६० करोड डलर सम्पत्ति भएका फुटबलर लियोनल मेसी विश्वका जीवित खेलाडीमध्ये आठाैँ धनी हुन् । धनअनुसार नै उनी विलासी जीवनशैली जिउँछन् । भलै उनको व्यक्तिगत जीवन अन्य खेलाडीजस्तो बाहिर त्यति आउँदैन, तैपनि लाइफस्टाइलकेन्द्रित पत्रकारले उनको जीवनशैलीका धेरै पाटा खुलाएका छन् । 

होटेल
मेसीको पूर्वक्लब बार्सिलोना एवं गृहनगर पर्यटकीय सहरका रूपमा परिचित छ । यही तथ्यलाई ख्याल गरेर मेसीले बार्सिलोनाबाट ४२ किलोमिटर टाढा रहेको तटीय सहर सिटगेसमा २.६ करोड डलर खर्चेर होटेल किनेका छन् । चारतारे उक्त होटेलको नाम एमआइएम सिटग्स हो, जुन समुद्री तटबाट जम्मा सय मिटर मात्रै टाढा छ । ७७ कोठा भएको होटेलको स्तरीय कोठालाई उच्च सिजनमा एक रातको एक सय पाँच पाउन्डसम्म पर्छ । 

घरजग्गा
मेसी बार्सिलोनामा ५५ लाख पाउन्ड पर्ने निवासमा बस्छन् । उनको घर क्याम्प नुबाट २० किमि टाढा क्यास्टेलडेफेल्समा छ । बार्सिलोनाका मेसीका पूर्वटिममेट इभान र्याकिटिकका अनुसार छिमेकीले अधिकांश समय हल्लाखल्ला मच्चाएर आजित बनाएर मेसीले सो घर नै किनेर शान्ति बहाल गरेका थिए । मेसीको घरमा सानो फुटबल मैदान, पोखरी, जिम र उनका तीन छोराछोरीका लागि खेल मैदान छ । उनको घरबाट बेलेरिक सागरको अद्भुत दृश्य देखिन्छ । 

कार
धेरै खेलाडीजस्तै मेसी पनि महँगा गाडीका सौखिन छन् । उनीसँग एउटा फेरारी एफ–४३० स्पाइडर, एक मासेराटी ग्रान टुरिस्मो एमसी स्ट्राडेल र एक अउडी आर–८ स्पाइडर रहेको खेल तथा जीवनशैली पत्रकारहरूले पत्ता लगाएका छन् । यी कारहरूको मूल्य डलरमा पनि लाखौँ पर्न जान्छ । मेसीसँग रहेको सबैभन्दा महँगो कार भने एक करोड डलरको छ । अक्सन (बोलकबोल)मा फेरारी–३३५ स्पाइडर स्काग्लिएट्टी ३.७ करोड डलरमा बिक्री भएको थियो । 

निजी विमान
मेसी १.५ करोड डलर पर्ने गल्फ स्ट्रिम भी मोडलको विलासी निजी जेटमा सयर गर्छन् । उनी आफू स्पेनस्थित उनको घरबाट अर्जेन्टिना आवत–जावत पनि यही जहाजमै गर्छन् । १६ सिट क्षमताको यो विमानमा दुई भान्सा र दुईवटा बाथरुम छन् । यस्तै, यसमा अलग सावरको समेत व्यवस्था छ । 

टाइगर उड्स
खेलकुदमा चाख दिने र विशेषतः गल्फको नाम सुन्ने हरेकले अमेरिकन व्यावसायिक गल्फ खेलाडी टाइगर उड्सको नाम सुनेकै हुन्छन् । उनी लामो समयदेखि व्यावसायिक गल्फ खेलिरहेका छन् र यसक्रममा उनले धेरै धनसम्पत्ति पनि आर्जन गरे । वेल्दीगोरिला नामक वेबसाइटका अनुसार उनी अहिले ८० करोड डलरका मालिक हुन् र विश्वका पाँचौँ सबैभन्दा धेरै धनसम्पत्ति भएका जीवित खेलाडी हुन् । धनअनुसार नै उनी भव्य जीवनशैली बाँच्ने गर्छन् । 

उड्स अहिले ८० करोड डलरका मालिक हुन् र विश्वका पाँचौँ सबैभन्दा धेरै धनसम्पत्ति भएका जीवित खेलाडी हुन् । धनअनुसार नै उनी भव्य जीवनशैली बाँच्ने गर्छन् ।

सन् २००९ मा विवाहित उड्सका एक दर्जनभन्दा बढी महिलासँग अफेयर भएको खुलेपछि एकाएक विवादको केन्द्रमा तानिएका थिए । उनकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद नै गरिन् । विभिन्न ब्रान्डले उनीसँगको सम्झौता तोडे र उनले खेलजीवनबाट केही सयम विराम लिए । फोर्ब्स म्यागेजिनका अनुसार उनको पाँच वर्षदेखि श्रीमती एलिन नोर्देगेनसँग सम्बन्धविच्छेद गर्दा ६० करोडका मालिक थिए । उनले श्रीमतीलाई १० करोड डलर तिर्नुपरेको थियो । 

दुई वर्षपछि उनी खेलजीवनमा फर्किए । यो पुनरागमनपछि उनी पहिलेकै गतिमा खेल्न नसके पनि विश्वका शीर्ष गल्फरमै पर्छन् र उनको वार्षिक कमाइ करोड डलरमाथि हुन्छ । उड्सका लगानी मुख्यतः व्यक्तिगत घरजग्गा र वाहनमा छ ।

जस्तो, फ्लोरिडाको ज्युपिटरस्थित उनको १० एकडको घरमा उनले ५.५ करोड खर्च गरेका थिए । सोही क्षेत्रमा उनको द उड्स जुपिटर नामक रेस्टुरेन्ट पनि छ । अन्य धेरै धनाढ्य खेलाडीजस्तै उनी पनि आफ्नै निजी जेट विमानमा यात्रा गर्छन् । उनीसँग रहेको गल्फस्ट्रिम जी–५५० जेट झन्डै ५.४ करोडको हो । उड्सको ‘द उड्स फाउन्डेसन’ नामक परोपकारी संस्थाले जोखिमा रहेका युवाहरूमा पैसा खर्च गर्ने गर्छ । सन् २०१२ मा उनले फाउन्डेसनलाई १.२ करोड डलर अनुदानमा दिएका थिए । 

सेरेना विलियम्स

टेनिस खेलाडीहरूले प्रतियोगिता जित्दा धेरै रकम पाउँछन् । उदाहरणका लागि सन् २०१८ मा युएस ओपनका प्रत्येक विजेतालाई ३८ लाख डलर प्रदान गरिएको थियो । महिला टेनिसकी चर्चित नाम सेरेनाले जितेको पुरस्कार राशि मात्र कुल ८.८ मिलियन डलरभन्दा बढी हुन आउँछ । त्यसबाहेक विभिन्न ब्रान्डसँगको सम्झौताबाट पनि उनले उल्लेख्य रकम कमाउँछिन् । फोब्र्सका अनुसार उनले बर्सेनि १.८ करोड डलर व्यावसायिक ब्रान्डसँगको सम्झौताबाट कमाउने गर्छिन् । विलियम्सले यो रकम केमा खर्च गर्छिन् त ?

सेरेना र उनकी दिदी भेनसले मियामी डल्फिन नामक रग्बी फुटबल क्लब र मार्सल आर्ट प्रतियोगिता आयोजक कम्पनी युएफसीमा लगानी गरेका छन् । यस्तै, उनी वेभली हिलको ६७ लाख डलर पर्ने घरमा परिवारसँगै बस्ने गर्छिन्, जुन उनकै कमाइले किनेको हो । यसबाहेक करोडौँ डलरको गहना तथा कपडा रहेको छ । तथापि, सेरेनाले पिपुल्स म्यागजिनसँगको अन्तर्वार्तामा आफू खासै धेरै खर्च गर्ने व्यक्ति नभएको बताएकी छिन् । यो बानी सानैदेखि रहेको उनले बताएकी छिन् । ‘अनइन्टरेप्टेड’लाई दिएको अन्तर्वार्तामा उनले आफूले पहिलो १० लाख डलर (मिलियन डलर) कमाउँदा रकम सीधै बैंकमा लगेर जम्मा गरेको बताएकी छिन् ।

See More On

सुझावित समाचार