नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ‘५० बिजनेस, ५० लगानीकर्ता’ कार्यक्रमका २० युवा उद्यमीहरूले सम्भावित लगानीकर्तासमक्ष नयाँ उद्यमबारे व्यावसायिक प्रस्तुति दिएका छन् । यो कार्यक्रममा मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा गरेको छ ।
देशभित्र नयाँ सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइदिने उद्देश्यअनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा महासंघका २५ जना सम्भावित लगानीकर्ताको उपस्थिति थियो । युवा उद्यमीले प्रस्तुत गरेका योजनामा लगानीकर्ताले रुचि देखाए महासंघको स्टार्टअप एन्ड इन्नोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ ।
महासंघ आफैँले आवेदनमार्फत छनोट गरेका र महासंघको सहकार्यमा व्यावसायिक संघ–संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए । पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुुत भएका थिए ।
पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड इन्टरप्रेनरसिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजी प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्विट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, ह्यापी माइन्डस, टेका, बोआफ्रेस, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको सुरुवात गर्दै यस कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्याउने विश्वास गरे । स्टार्टअप एन्ड इन्नोभेसन समितिका सभापति रञ्जितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति–निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेस गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए ।
महासंघले पहिलोपटक स्टार्टअप एन्ड इन्नोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रूपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने बताइएको छ ।