सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा नेपालका डा. शीतलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकले डा. श्रेष्ठलाई महासचिवमा चयन गरेको हो ।
भारतीय भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. चिरन्तन कडियन सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको अध्यक्षमा चयन भएका छन् । सोमबार भएको बैठकमा सार्क राष्ट्रहरूमा भएका संगठनहरूको प्रतिनिधित्व थियो ।
नेपाल भेटेरिनरी एसोसिएसनको १४औँ राष्ट्रिय सम्मेलनको अवसरमा क्षेत्रीय एसोसिएसनको पहिलो बैठक बसेको हो । बैठकले एसोसिएसनको सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।
१४औँ राष्ट्रिय सम्मेलनको उद्घाटन भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री चन्द्रबहादुर बुढाले गरे । सम्मेलनमा पाँच सय भेटेरिनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो । ७० वटा कार्यपत्र प्रस्तुत गरिएको दुईदिने सम्मेलन पोखरामा सम्पन्न भएको हो ।