अमेरिकी डलर साट्ने भन्दै आठ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन् ।
उनलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । श्रेष्ठले आफूसँग अमेरिकी डलर रहेको भनी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका– ४ घर भई ललितपुरको नख्खु बस्दै आएका एक ६२ वर्षीय व्यक्तिलाई ठगी गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार श्रेष्ठले गत १७ जेठमा कलंकीस्थित सीता पेट्रोल पम्पनजिक ती व्यक्तिलाई आफ्नी आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना गरेको, तर उपचारका लागि नेपाली रुपैयाँ नभएको भन्दै आफूसँग भएको अमेरिकी डलर साटेर सहयोग गर्न आग्रह गरेका थिए । समस्यामा परेको ठानी ती वृद्धले आफूसँग भएको आठ लाख रुपैयाँ दिएका थिए । पछि हेर्दा श्रेष्ठले दिएको कपडा तथा प्लाष्टिकको थैलीमा डलरको साइटमा काटिएका कागजका टुक्रा भेटिएको थियो । त्यसपछि ती व्यक्ति आफू ठगिएको भन्दै प्रहरीमा उजुर गर्न गएका थिए ।
प्रहरीले श्रेष्ठमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ । श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीले थुनामा राखेको छ ।