केही दिनअघिदेखि परेको अविरल वर्षाका कारण संखुवासभाको चिचिला गाउँपालिकाभित्रका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् ।
गाउँपालिकाभित्रका वडा नम्बर १ मा ६ घर र वडा नम्बर ३ मा चार घरपरिवार विस्थापित भएका हुन् । वडा नम्बर १ को सोभाङमामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित बनाएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए ।
उनका अनुसार, वडा नम्बर ३ मुग्लीगाउँमा बलबहादुर राई (ख), सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको छ । पहिरोबाट विस्थापित परिवारलाई आफन्तको घर र सामुदायिक भवनमा राखिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । पालिकाभित्रका अन्य स्थानमा समेत पहिरोको जोखिम बढेको छ भने क्षतिको अनुगमन भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ । क्षतिको सम्पूर्ण विवरण आइसकेपछि विपत् व्यवस्थापन समितिले निर्णय गरी विस्थापितहरूको पुनर्स्थापना गरिने अध्यक्ष शेर्पाले बताए ।
एक सातादेखि संखुवासभाको विभिन्न स्थानमा लगातार रूपमा वर्षा भइरहेको छ । वर्षाका कारण खाँदबारीदेखि भोटखोला गाउँपालिका, किमाथांका जाने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह ड्यामसाइड फ्याक्सिन्दा केही क्षति पुर्याएको छ । ड्यामसाइडमा काम गरिरहेको रानीढुंगा निर्माण सेवा प्रा.लि.को प्रदेश १–०२/००१ क ४१८५ नम्बरको एक्स्काभेटरसमेत बगाएको कम्पनीका सञ्चालक टकमान घलले बताए ।