नयाँ जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा गुमनाम भए पूर्वप्रमुख

बिग्रिदै छ राजनीतिक संस्कार

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

पराजित प्रतिस्पर्धी मात्रै नभएर एक कार्यकाल बिताएका प्रमुखहरू नै नयाँ जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा गुमनाम 

बुधबार निर्वाचित जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री र उपप्रमुख तेजेन्द्र सलामीले सोही दिन कार्यालयमा पदभार ग्रहण गरे । उनलाई समन्वय अधिकारी भक्तिराम मरासिनीले पदभार ग्रहण गराए । उक्त कार्यक्रममा पूर्वसमन्वय प्रमुख लक्ष्मण पराजुली उपस्थित भएनन् ।

मिश्रित दृश्य

पदभार ग्रहणमा उपस्थित हुनु नै पर्ने अनिवार्य व्यवस्था त छैन । तर, असल राजनीतिक संस्कारका लागि उपस्थिति हुने चलन छ । त्यसलाई राजनीतिभित्रको उच्च राजनीतिक संस्कारका रूपमा हेर्ने गरिन्छ । जिल्ला समन्वय समितिदेखि स्थानीय तहको निर्वाचनसम्म मिश्रित दृश्य देखिए । इस्मा गाउँपालिकाका पूर्वप्रमुख लक्ष्मण विष्ट र उपप्रमुख विमला खत्री पनि पदभार ग्रहणमा उपस्थित भएनन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत समसुलहक मियाँले नवनिर्वाचित प्रमुख भगतसिंह खड्का र उपप्रमुख पार्वती कुँवरलाई पदभार ग्रहण गराए । मालिका गाउँपालिकामा पदभार ग्रहणमा गाउँपालिकाका पूर्वप्रमुख रितबहादुर थापा थिएनन् । उनी निर्वाचनमा पराजित भएका थिए । निर्वाचित गाउँपालिका प्रमुख देवीराम अर्याल र उपप्रमुख उपेन्द्र अर्यालले पदभार ग्रहण गर्दा पूर्वउपप्रमुख देवा अर्याल भने उपस्थित थिइन् । 

मदाने गाउँपालिका प्रमुख महेन्द्रबहादुर कुँवरको पदभार ग्रहणका दिन पूर्वप्रमुख दानबहादुर केसी पनि उपस्थित भएनन् । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीको पदभार ग्रहण पनि गाउँपालिकाका पूर्वप्रमुख नीलकण्ठ गौतम उपस्थित भएनन् । उनलाई प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पन्थले पदभार ग्रहण गराए। 

यसैगरी सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेयको पदभार ग्रहणमा पूर्वप्रमुख पारिश्वर ढकाल उपस्थित भएनन् । प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले प्रमुखलाई शपथग्रहण गराएका थिए । पाण्डेयसँग ढकाल पराजित भएका थिए । उपप्रमुख निरमाया तरामुको शपथग्रहणमा भने पूर्वउपप्रमुख सुर्वण शाही उपस्थित थिइन् । 

जसले आफैँले कुर्सीमा बसाले

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीसहितका जिल्लाका १२ स्थानीय तहका प्रमुखलाई रेसुंगा नगरपालिकामा शपथ खाए । त्यसलगत्तै रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीलाई पूर्वमेयर डिल्लीराज भुसालले सँगै लगेर कुर्सीमा बसाले । बधाई तथा शुभकामना दिए ।

यसैगरी धुर्कोटमा प्रमुख पदमा भुपाल पोख्रेल पुन: विजयी भएका थिए । पूर्वउपप्रमुख शिवबहादुर केसी निर्वाचित प्रमुख तथा उपप्रमुखको पदभार ग्रहण उपस्थित थिए । मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका, छत्रकोट र चन्द्रकोटमा पूर्वप्रमुखहरू नै उपस्थित भएर नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको पदभार ग्रहण गराए । 

हारेर पनि अँगालोमा

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल एमाले–माओवादी गठबन्धनबाट विजयी भए । उनका प्रतिस्पर्धी हुन् कांग्रेस–एकीकृत समाजवादी गठबन्धनका महेन्द्र भण्डारी । पोख्रेल र भण्डारी सत्तागठबन्धन दलका थिए । तर, चुनावी मैदानमा फरक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरे । महेन्द्र भण्डारी पराजित बने पनि विजयी पोख्रेलसँग अँगालो हालेर बधाई तथा शुभकामना मात्रै दिएनन्, सबैलाई राजनीतिक संस्कार पनि सिकाए । ‘राजनीतिक यात्रा लामो छ । हारजित स्वाभाविक प्रक्रिया हो,’ भण्डारीले भने, ‘संस्कार आफैँबाट सुरु गर्नुपर्छ ।’

कतै खबर भएन, कतै पूर्वाग्राही बने

केही स्थानीय तहका पूर्वप्रमुख तथा उपप्रमुखले पदभार ग्रहणमा खबर नपाएको बताए । केही भने पूर्वाग्रही भएरै उपस्थित भएनन् । कतै प्रमुख तथा उपप्रमुखको प्रतिस्पर्धामा बाहिरिएपछि नगएको पनि पाइएको छ । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले शपथग्रहणमा आफू उपस्थित भए पनि पदभार ग्रहणमा उपस्थित नभएको बताए ।

उनले खबर नदिईकनै पदभारग्रहण गरेकाले आफू सहभागी हुन नपाएको बताए । ‘पदभारमा पनि खबर पाएसम्म उपस्थित हुँदा राम्रो हुन्छ । शपथमा खबर भएकाले उपस्थित भएँ,’ उनले भने, ‘राजनीतिमा असल संस्कृति आवश्यक छ ।’

रेसुंगा बहुमुखी क्याम्पसका प्राध्यापक गुणानिधि शर्माले उच्च संस्कारले व्यक्तिलाई नै फाइदा पुग्ने भएकाले संस्कार प्रदर्शन गर्न औपचारिकता नचाहिने भएकाले व्यक्तिको दृष्टिकोण नै प्रमुख कुरा हुने बताए । 
 

सुझावित समाचार