विश्वकपमा ३२ टिम, एसियाबाट पाँच

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

मध्यपूर्वी एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने ३२ राष्ट्रकै छिनोफानो भएको छ । कतारमा आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म फिफा विश्वकप हुँदै छ । फिफा विश्वकपको इतिहासमा पहिलोपटक विन्टर सिजनमा हुन लागेको हो । यसअघिका सबै संस्करण ग्रीष्मकालीन हुन्थ्यो । कोस्टारिका कोन्काफ क्षेत्रबाट छनोट भएपछि विश्वकपमा सहभागी हुने सबै ३२ टोली टुंगो लागेको हो । कोस्टारिका विश्वकपमा स्थान बनाउने ३२औँ राष्ट्र हो । 

 एसिया 
इतिहासमै पहिलोपटक एसियाबाट सर्वाधिक पाँच राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् । आयोजक कतार, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र इरानले विश्वकपमा भाग लिनेछन् । फिफाको कोटाअनुसार एसियाबाट सीधा चार राष्ट्र छनोट हुने प्रावधान छ । एक टोली प्लेअफ माध्यमबाट छनोट हुन्छ । छनोट माध्यमबाट अस्ट्रेलियाले विश्वकपमा स्थान बनाएको थियो । 

विश्वकपमा सबैभन्दा धेरै राष्ट्र युरोपबाट छानिएका छन् । युरापका १३ राष्ट्रले कतार विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् । अफ्रिकी महादेशबाट पाँच राष्ट्र विश्वकपमा पुगेका छन् । यसैगरी कोन्काफबाट तीन र कन्मेवलबाट चार राष्ट्र विश्वकपमा छनोट हुने प्रावधान छ ।

 युरोप
दुई साताअघि वेल्सले युरोपबाट १३औँ राष्ट्रका रूपमा विश्वकपको टिकट पक्का ग¥यो । युरोपबाट जर्मनी, डेनमार्क, साविक विजेता फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्यान्ड विश्वकपमा पुगेका छन् । 

 दक्षिण अमेरिका
दक्षिण अमेरिकाबाट पाँचपटकको विजेता ब्राजिल आयोजक कतारपछि विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बनेको थियो । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, उरुग्वे र इक्वेडर छनोट भए । यसपटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा पुग्न सकेनन् । 

 उत्तर तथा मध्य–अमेरिका (कोन्काफ)
कोन्काफ क्षेत्रबाट शीर्ष तीन टोली विश्वकपमा छानिएका छन् । ३६ वर्षपछि क्यानडा विश्वकपमा पुग्यो । अमेरिका र मेक्सिकोले पनि कतार विश्वकपमा स्थान बनाए । कोस्टारिकाले प्लेअफमा न्युजिल्यान्डलाई हराएर विश्वकपमा स्थान पक्का गरेको हो । 

 अफ्रिका
अफ्रिकाबाट विश्वकप खेल्ने पाँच टोलीमा घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन छन् । 

 ओसियाना
फिफाको प्रावधानअनुसार ओसियाना क्षेत्रका राष्ट्र सीधै विश्वकपमा छनोट हुन सक्दैनन् । यस क्षेत्रका राष्ट्रले विश्वकपमा स्थान बनाउन अन्तरमहादेशीय प्लेअफ खेल्नुपर्छ । ओसियाना छनोटको फाइनलमा सोलोमोन आइल्यान्डलाई ५–० ले पराजित गर्दै न्युजिल्यान्डले प्लेअफमा स्थान बनाएको थियो । न्युजिल्यान्ड कोन्काफ क्षेत्रको छनोटमा चौथो भएको कोस्टारिकासँग पराजित भयो । 

See More On

सुझावित समाचार