नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खाजेको भनी प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयले ध्यानाकर्षण भएको भन्दै कसको अन्डरमा, कसको ब्यानर र कसको कमान्डमा नेपाली सेना यो ढंगबाट अगाडि बढिरहेको वा बढाइएको भनी प्रश्न गरे ।
यस्तो प्रक्रिया नेपालको संविधानको बर्खिलाप भएको भन्दै ज्ञवालीले अमेरिकाको युद्ध, सैन्य सामग्री र त्यहाँको सेक्युरिटीको जिम्मा सरकारले लिनुपर्ने त्यस्तो के बाध्यता पर्यो भनेर सोधेका छन् । अन्य छिमेकी मुलुकले यस्तैखाले सुविधा मागे भने हामीले दिन सक्ने कि नसक्ने भनेर प्रश्न उठाएका छन् ।
एउटा मुलुकले कोसीको बाँध भत्किँदा गाडीलाई पास दिन राखेको सम्पर्क कार्यालय हटाउन १२ वर्ष लागेको र अनमिन हटिसक्दा पनि पुछरको रहेको कार्यालय हटाउन १०औँ वर्ष लागेको विगत सम्झाउँदै उनले सरकारले देशलाई फेरि पनि भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए ।