संसदमा अर्थमन्त्री शर्माको जवाफको कार्यसूची हटाउन एमाले प्रमुख सचेतक भट्टराईको माग

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमालेले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग गरेका हुन् । उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएकोप्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए । 

उनले भने, ‘हिजोबाट नै संसदमा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौँ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलले संसदमा उभिएर अब्जेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने भन्दै कार्यसूचीको ९ नम्बरमा अर्थ मन्त्रालय राख्नुभएको रहेछ । जब अर्थमन्त्रीज्यूको काम क्रियाकलापमाथि यति गम्भीरतापूर्वक प्रश्न उठेपछि नेकपा एमालेको तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न बिलकुलै तयार छैन । आजको कार्यसूचीबाट अर्थमन्त्रीको जवाफ हटाइयोस् । त्यसपछि मात्रै अरू मन्त्रालयहरूसँगको सम्बन्धित कुरामा बस्छौँ, छलफल गर्छौँ, सभामुखको आग्रह स्वीकार गर्छौँ । तर, त्यसभन्दा अगाडि अर्थ मन्त्रालयको आजको सूचीबाट हटाउनका लागि सभामुखसँग गम्भीरताका साथ आग्रह गर्न चाहन्छु ।’

प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचीमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाए मात्रै बैठकमा भाग लिने बताए ।  

सुझावित समाचार