उदयपुरमा चारजनामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा एक–एक र ताप्ली गाउँपालिकामा दुई गरी चारजनामा कालाजार संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार ताप्ली गाउँपालिका–५, रूपाटारमा दुईजनामा कालाजार पुष्टि भएको छ । ताप्ली गाउँपालिका–५, रूपाटारका ११ वर्षीया बालिका शेसुका राई र ६२ वर्षीय पुरुष कलबहादुर खिलिङ छन् । राईलाई कान्ति बाल अस्पताल र खिलिङलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा कालाजार पुष्टि भएको सूचना अधिकारी निरौलाले बताए । दुवैको उपचार जारी छ ।
त्रियुगा नगरपालिका–१२, डिएमगेटका १८ वर्षीय मो. सर्तार अलीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत चैतमा कालाजार पुष्टि गरेको थियो । रौतामाई गाउँपालिका–५, आँपटारका ५० वर्षीय अरिरत्ना राईलाई पनि कालाजार पुष्टि भएको छ । उनको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ ।