बजार घटे पनि लगानी बढाउँदै लगानीकर्ता

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

अघिल्लो साता पाँच दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ५५ अंकले घटेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से परिसूचक दुई हजार एक सय १५ दशमलव ५९ को उच्चतम बिन्दुबाट ओरालो लाग्दै दुई हजार १६ दशमलव ८१ को न्यूनतम बिन्दुमा पुगेर केही उकालो लागेको हो ।

एक दशमलव ४७ प्रतिशतले घटेको बजारमा लगानीकर्ताले लगानी बढाउन थालेको देखिन्छ । बजार घटेर न्यूनतम बिन्दुमा आइपुग्दा कम्पनीहरूको सेयर मूल्य भने सस्तो बन्न पुगेको छ । जसले लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहन मिलेको छ । एक ब्रोकरका अनुसार बजारमा कम्पनीको सेयर मूल्य सस्तो बन्न थालेपछि खरिद गर्नेहरू हाबी भएका छन् ।

अघिल्लो हप्ताको तुलनामा गत साता कारोबार रकममा वृद्धि भएकाले पनि लगानीकर्ताले लगानी बढाइरहेको देखिन्छ । साना लगानीकर्ता ‘पर्ख र हेर’को नीति अपाइरहने र ठूला लगानीकर्ताले लगानी बढाइरहँदा कारोबार रकम अघिल्लो तुलनामा बढेको छ । अघिल्लो साता ६ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार हुँदा यस हप्ता ६ दशमलव २८ प्रतिशतले बढेको छ । यस हप्ता औसत कारोबार एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो हप्ता औसत कारोबार रकम एक अर्ब २४ करोड रुपैयाँ रहेको थियो । नेप्सेको हाल बजार पुँजीकरण दुई अर्ब ९१ करोड ५७ लाख ५९ हजार रहेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक यस साता घटेका छन् ।यस साता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । संस्थाका लगानीकर्ताले ६१ दशमलव ०४ प्रतिशतले नाफा कमाएका हुन् । अघिल्लो साता संस्थाको सेयर मूल्य १७ सय ५७ दशमलव १० पैसा रहेको थियो भने बढेर २८ सय २९ दशमलव ६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ६० प्रतिशतले नाफा आर्जन गरेका छन् । अघिल्लो साता कम्पनीको सेयर मूल्य एक सय ६८ दशमलव ६० पैसा रहेको थियो भने यस साता बढेर दुई सय ७१ दशमलव २० रुपैयाँ पुगेको छ । यस हप्ता हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । हिमालयन बैंकका लगानीकर्ताले २० दशमलव ६३ प्रतिशतले नोक्सान गुमाएका छन् भने इन्भेष्टमेन्ट बैंक प्रोमोटर सेयरका लगानीकर्ताले १६ दशमलव २१ प्रतिशतले नोक्सान गुमाउन पुगेका हुन् ।

 फेरि आइतबार सेयर बजार खोल्ने तयारी
नेपाल स्टक एक्सचेन्जले आइतबार पुनः बजार खुला गर्ने तयारी गरेको छ । सरकारले आइतबारसमेत दिँदै आएको सार्वजनिक बिदा असारबाट फिर्ता लिने निर्णय गरेसँगै नेप्सेले पुरानै नियमित कारोबार गर्ने जनाएको छ । ‘अहिले नै भन्न सकिँदैन, हामी छलफल गर्दै छौँ, निर्णय भएपछि सूचना जारी गर्छाँै,’ नेप्सेका एक अधिकारीले भने । गत जेठदेखि सरकारले परीक्षणका लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो । 
 

See More On

सुझावित समाचार