प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि काठमाडौंमा सुरु राष्ट्रिय सम्मेलनमा देउवाले यस्तो बताएका हुन् ।
कांग्रेसको एकलौटी सरकार नभएको उल्लेख गर्दै उनले ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने बताए । ‘तपाईंहरूले कतिपय अति महŒवपूर्ण कुराहरू उठाउनुभएको छ । कतिपय माग सम्बोधन गर्ने गरी बजेटमा आएका छन् । छैनन् भने पनि हामी त्यसलाई पूरा गर्नेछौँ,’ देउवाले भने, ‘तर, तपाईंहरूले यो पनि बुझ्नुपर्छ कि यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझीकन तपाईंहरूले धेरै दाबी गर्ने कुरा छैन ।’
उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढसंकल्पित रहेको बताए । प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरणसमेत गराएका छन् । श्रमिक र अन्य सबै नागरिकलाई संविधानले प्रदत्त गरेका सबै अधिकारको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध भएर लागेको उनको भनाइ थियो ।