निर्वाचनको समीक्षा गर्न एमाले सचिवालय बैठक

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

 एमालेले स्थानीय तह निर्वाचनको समीक्षाका लागि सोमबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । निर्वाचन सकिएको एक महिनापछि एमालेले त्यसको औपचारिक समीक्षाका लागि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । 

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले छलफलका लागि चारवटा एजेन्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागहरूको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ । 

एमालेले जिल्ला र प्रदेशले पठाएको रिपोर्टका आधारमा स्थानीय तह निर्वाचनका उपलब्धि र कमजोरीबारे समीक्षा गर्दै छ । उपमहासचिव ज्ञवालीले समीक्षा प्रतिवेदनमा निर्वाचनको उपलब्धि र कमजोरीको समीक्षाका अतिरिक्त निर्वाचन आयोगको परिणामको तथ्यांकलाई आधार मानेर गरिएको मतसहितको समग्र विश्लेषणलगायतका विषय समेटिएका छन् । 

यसअघि सम्पन्न एमाले संसदीय दलको बैठकले पार्टीले पराजय भोग्नुको मूल कारण अन्तर्घात भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । एमाले अध्यक्ष केपी ओलीले जनमत पक्षमा भए पनि पार्टीलाई आफूभित्रैका नेताहरूबाट जोगाउन अप्ठ्यारो भएको सार्वजनिक रूपमै बताएका थिए । केन्द्रीय सचिवालय बैठक डाकिएकै भोलिपल्ट ३१ जेठमा एमाले केन्द्रीय अनुशासन आयोगको पनि बैठक बस्दै छ । सचिवालय बैठक र आयोगको दुवै बैठक एकैपटक चल्ने भएकाले कतिपय पार्टी नेतालाई पनि अनुशासनको स्पष्टीकरण सोधिने सम्भावना छ । 

सुझावित समाचार