कांग्रेसलाई साइजमा राख्न चार पार्टीबीच छुट्टै छलफल : प्रचण्ड

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम रहन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले कांग्रेसलाई साइजमा राख्न छुट्टै छलफल थालेको बताएका छन् । ‘स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ,’ उनले भने । 

पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय ‘वैचारिक राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण’ कार्यक्रममा बाेल्दै उनले कार्यकर्तासँग यस्ताे बताएका हुन् । 

प्रचण्डले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए । ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, त्यसअनुरूप सफल भएन । तर, केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ,’ उनले भने । प्रचण्डले पाँचदलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम रहने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउँदा र सातै प्रदेशका सरकारबाट हटाउँदासमेत डोज अझै नपुगेको बताए । ‘ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याइयो । सात प्रदेशकै सरकारबाट हटाइयो । राष्ट्रिय सभाको निर्वाचनमा समेत सबै मिलेर हराइयो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अघिल्लोपटक जितेका सय पालिकाबाट हराउँदा पनि ओलीलाई अझै डोज पुगेको छैन,’ उनले भने । 

सुझावित समाचार