नेपाली सिनियर पुरुष टोलीले आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा पुनः एकपटक सहज लक्ष्य पछ्याउन सकेन । अमेरिकाको टेक्सासमा विश्वकप लिग २ अन्तर्गत बिहीबार राति नेपालले ओमानबाट प्रस्तुत दुई सय १२ रनको मध्यम लक्ष्य पार गर्न नसकेको हो । नेपालका पूरै ११ जना ब्याट्सम्यान एक सय ९८ रनमै समेटिए । पूर्णतया ब्याटिङ पिचमा ओमानले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो ।
प्रत्युत्तरमा नेपाल ४९.४ ओभरमै अलआउट भयो । नेपाल महत्वपूर्ण खेलमा १३ रनले पराजित भयो । हारसँगै नेपालले १३ खेलबाट १३ अंक बटुल्यो । नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । ओमानले सर्वाधिक ३४ खेलबाट ४२ अंक बटुलेको छ । ओमान शीर्ष स्थानमा छ । नेपालले अब आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक सिरिजमा सबैभन्दा कम खेल खेलेको नेपालले ६ जित र सात हारको सामना गरेको छ ।
आरिफको अर्धशतक
सहज लक्ष्य पछ्याएको नेपालको मध्यक्रमका ब्याट्सम्यान मात्र चले । ओपनर तथा पुछारका ब्याट्सम्यानले गतिलो रन बटुल्न सकेनन् । प्रशिक्षक पुबुदु दसानायकेले सुनील धमला र सुवास खकुरेललाई ओपनिङमा पठाए । तर, दुवै ओपनरले नेपालका लागि गतिलो रन बटुलेनन् । नियमित ओपनर कुशल भुर्तेलको स्थानमा मौका पाएका सुवासले सात बलमा तीन रन मात्र जोडे ।
आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा बिहीबार ओमानले प्रस्तुत गरेको २ सय १२ रनको सहज लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा एक सय ९८ रनमै समेटियो । नेपालका आरिफ सेखले अर्धशतकीय इनिङका रूपमा ६६ रनको योगदान दिए ।
डेब्यु अवसर पाएका सुनीलले ३८ बलमा १२ रन मात्र बनाए । नेपालले दुवै ओपनर गुमाउँदा स्कोर बोर्डमा ४० रन मात्र बनाएको थियो । देव खनाल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ३१ रन जोडे । रोहितले १७ बलमा तीन चौकाको सहयोगमा २० रन बनाए । देव २१.२ ओभरमा आउट भए । उनले ५३ बलमा पाँच चौका प्रहार गरी ३४ रन बटुले । मध्यक्रमका मुख्य ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३० बलमा १६ रन मात्र बटुे । नेपालको ब्याटिङ इनिङ्समा आरिफ सेखले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
नेपालबाट अन्तिममा आउट हुने खेलाडी आरिफ नै रहे । ४९.४ ओभरमा आरिफ विलाल खानबाट एलबिडब्लू भए । आरिफले ७९ बलमा ६ चौका प्रहार गर्दै ६६ रनको योगदान दिए । आरिफको यो दोस्रो एकदिवसीय अर्धशतक हो । उनले १९ खेलमा तीन सय ६६ रन बटुलेका छन् । आरिफलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिएनन् । नेपालका मुख्य ब्याट्सम्यानहरूले धेरै बलको सामना गरेका थिए । विकेट किपर ब्याट्सम्यान दीपेन्द्रसिंहले १४ रन बनाउन ४६ बल खेले । डिफेन्ससिप ब्याटिङ गरेका नेपाली खेलाडीले अन्तिम १० ओभरमा ५७ रन मात्र बनाएको थियो ।
६० रनको महत्वपूर्ण साझेदारी
धर्मराएको ब्याटिङ इनिङ्समा ओमानका लागि मक्सुद र सातौँ क्रमका ब्याट्सम्यान खवार अलीले महत्वपूर्ण साझेदारी गर्न सफल भए । दुवैले छैटौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै ओमानलाई ८६–५ बाट १४६–६ को स्थितिमा राखे । सोमपाल कामीले अलीलाई आउट पारे । अलीले ३० रन बनाउन ६२ बलमा तीन चौका प्रहार गरे । त्यसपछि मक्सुदले सुरज कुमारसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरे । कुमारले १४ बलमा १२ रन बनाए । ओमानको ब्याटिङमा पाँचजना ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर दुई विकेट लिए । सोमपालले ४० रनमा एक विकेट हात पारे । ओमानको ब्याटिङमा एक मात्र छक्का कुमारले प्रहार गरेका थिए । ओमानका ब्याट्सम्यानले २१ चौका ठोके ।
करणको कीर्तिमानी बलिङ
पहिलो ब्याटिङ गरेको ओमान एक समय कमजोर अवस्थामा थियो । नेपालका फास्ट बलर करण केसीको घातक बलिङको सामना ओमानका ब्याट्सम्यानले गर्न सकेनन् । यसै खेलबाट करणले एकदिवसीय करिअरमा ओमानविरुद्ध पाँच विकेट पूरा गर्न सफल भए । नेपाली क्रिकेटमा करण एकदिवसीय र अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिने पहिलो बलरसमेत बनेका छन् । यद्यपि, कीर्तिमान प्रदर्शनका करणले नेपाललाई जित दिलाउन सकेनन् । करणअघि एकदिवसीय खेलमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल केसीले पाँच विकेट लिएका थिए ।
एकदिवसीय खेलमा नेपालबाट पाँच विकेट लिने करण तेस्रो खेलाडी बनेका छन् । करणले आफ्नो पूरै १० ओभरको स्पेलमा ३८ रन खर्चेका थिए । उनले ३.८० को प्रतिओभर रनरेटमा बलिङ गरे । करणले १९ एकदिवसीय खेलमा ३२ विकेट लिएका छन् । उनले तीनपटक चार विकेट लिएका छन् । करिअरमा उनको बलिङ इकोनोमी औसत ४.९३ रहेको छ । करणले इनिङ्सको पहिलो बलमै ओमानका ओपनर कास्यप प्रजापतिलाई एलबिडब्लू धरापमा राखेका थिए । फायाज बटको विकेटसँगै करणले एकदिवसीय खेलमा पहिलोपटक पाँच विकेट लिए । करणले आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनमा दुई ब्याट्सम्यानलाई एलबिडब्लू तथा बोल्ड गरेका थिए ।
कप्तान मक्सुदको शतकीय इनिङ
ओमान इनिङ्सको एक समयमा ८६–५ को कमजोर अवस्थामा थियो । नेपालले ओमानको पाँच विकेट लिँदा २४.२ ओभर मात्र चलिरहेको थियो । यस स्थितिबाट नेपालले ओमानलाई कम योगफलमै रोक्ने सम्भावना थियो । तर, नेपाली खेलाडीको योजनामा ओमानका कप्तान जिसान मक्सुद बाधक बने ।
इनिङ्सको अन्तिमसम्म उनी नटआउट रहे । ओमानको जितमा कप्तान मक्सुदको योगदान महत्वपूर्ण रह्यो । म्यान विनिङ प्रदर्शन गरेका कारण नै उनी खेलकै म्यान अफ द म्याच भए । मक्सुदले आफ्नो एकदिवसीय खेलमा दोस्रो शतकीय इनिङ खेल्दा नै नेपालले मध्यम योगफल प्राप्त गर्यो । उनले एक सय चार रनको शतकीय इनिङ्स खेले । यसक्रममा उनले एक सय २६ बलमा १२ चौका प्रहार गरे । मक्सुदले ३३ एकदिवसीय खेलमा आठ सय ९४ रन बनाएका छन् ।
उनले चारपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । चौथो क्रममा ब्याटिङ गरेका मक्सुदले अन्तिम ओभरतिर आक्रामक रूपमा ब्याटिङ गरेका थिए । विकेटको एकछेउमा विकेट पतन भइरहे पनि मक्सुदले आफ्नो विकेट भने बचाइरहे । उनले लगातार सातौँ विकेटसम्म आफ्ना साथीहरूसँग गतिलो साझेदारी गरे ।