विद्यालय हिँडेको पाँच मिनेटमा डोजरको सिकार बने गगन

गगनको मृत्युको खबरले आमा मुर्छित छन्, एक्लो छोरा गुमाएका बुवा भन्छन्, छोराको जीवन पैसासँग नसाटियोस्

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

मुसिकोट नगरपालिका २ का १४ वर्षीया गगन रायमाझीले झोला बोकेर घरबाट विद्यालय निस्किएको पाँच मिनेट नहुँदै डोजरले फालेको ढुंगाले लागेर ज्यान गुमाए । उनी मुसिकोट नगरपालिका ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । घटना सुनेर आमा कल्पना रायमाझी अझै मूर्छित छन् । हुर्केको एक्लो छोरा गुमाउँदा बुबा हरिबहादुर रायमाझीका आँखा ओभाएका छैनन् । सिंगो विद्यालय शोकमा छ । शुक्रबार गगनको शोकमा पृथ्वी माध्यमिक विद्यालय बन्द गरियो । ‘गगनको चन्चलता सम्झिएर विद्यालय बस्नै सकिएन । ठूलो सम्भावना भएको साथी गुमाएका छौँ,’गगनका साथी निशान्त घिमिरेले भने,‘परिवारमा अझै कति पीडा भएको होला ।’

प्रत्यक्षदर्शी शिक्षिका भन्छिन् – रगताम्य देखेर विक्षिप्त भएँ

गगन सधैँ साथीहरूसँग विद्यालय हिँड्थे । बिहीबार पनि साथीहरूसँग नै थिए । तर, अरूभन्दा केही अगाडि । एक्कासि डोजरले पल्टाएको ढुंगाले गगनलाई लाग्यो । उनी अचेत भएर सडकमा पल्टिए । साथीहरूले केही पर भएकी पृथ्वी माविकी शिक्षिका सम्झना कार्कीलाई खबर गरे । शिक्षिका हतारमा दौडिएर गगन ढलेको स्थानमा पुगिन् । उनले रगताम्य र  अचेत अवस्थामा गगनलाई देखेपछि तत्काल विद्यालय र परिवारमा खबर गरेको बताइन् । ‘त्यो दर्दनाक अवस्थाले मसँगै अरू विद्यार्थी विक्षिप्त बने । थुप्रै विद्यार्थी सँगै थिए । डोजर चलेको विषयमा कुनै जानकारी थिएन,’ उनले भनिन,‘आँखाअगाडि एउटा राम्रो विद्यार्थी गुमाएको पीडाले निदाउन सकेकी छैन।’ दुर्घटनाको केहीबेरमै आफन्तहरूले थप उपचारको आशामा गुल्मी अस्पताल लगे पनि अन्तत: गगन फर्किएनन् ।

ठेक्काको म्याद समाप्त : बिनासूचना डोजर सञ्चालन
 मुसिकोट नगरपालिका ३ धारापानी हुँदै पृथ्वी मावि पढ्न आउने विद्यार्थीहरूको बिहान ८ बजेबाट नै घुइँचो चल्छ । अहिले डोजर सञ्चालन भएको सडक नयाँ होइन । स्थानीयका अनुसार डोजर सञ्चालन गर्नुपर्ने ठूलो काम पनि थिएन । तर, विद्यार्थी विद्यालय हिँड्ने समयमा बिनासूचना सञ्चालन गरियो । डोजरले फालेको ढुंगाले लागेर रायमाझी परिवारको छोरा, पृथ्वी माविको विद्यार्थी मात्रै नभएर देशकै एक होनहार कणधार गुमाउनुपरेको छ । यो निर्माण व्यावसायीको चरम लापर्बाही हो । स्थानीय युवा वसन्त अधिकारीले रातडाँडा–मुसिकोट मैदान–नेटा सडकको काममा ढिकासुस्ती मात्रै नभएर एकजना विद्यार्थीले अनाहकमा ज्यान गुमाउनुपरेको बताए । निर्माण व्यावसायीले समयमै काम गर्न नसकेपछि एक वर्षे म्याद थपको प्रक्रिया कुरेका छन् । गत चैतमै ठेक्काको म्याद सकिएपछि ग्राभेलपछि नाली व्यवस्थापनको काम गरिरहेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सागर मरासिनीले बताए । 

चालक फरार, मृतकका बुवा भन्छन्, छोराको जीवन पैसासँग नसाटियोस् 

घटनापछि डोजरचालक शेरबहादुर विक फरार छन् । मृतक गगनका बुबा हरिबहादुर रायमाझीले छोराकाे ज्यान पैसासँग नसाट्न प्रहरी तथा प्रशासनसँग आग्रह गरे । उनले बिनालाइसेन्स र बिनासूचना डोजर सञ्चालन गर्ने चालक र निर्माण व्यावसायीलाई हदैसम्मको कारबाहीको माग गरे । ‘अब मेरो छोरो फर्किँदैन निर्माण व्यवसायीको लापर्बाहीविरुद्ध सबै बोल्दिनुपर्यो,’ उनले नयाँ पत्रिकासँग रुँदै भने, ‘पैसाले दोषी उम्किए मृतकको आत्माले शान्ति पाउँदैन ।’ जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक माधवराज खरेलले वडागाउँको घटनामा चरम लापर्बाही देखिएको बताए । उनले सूर्य कन्स्ट्रक्सनका निर्माण व्यवसायी बोमबहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको बताए । चालक नै फरार भएकाले लाइसेन्स भए वा नभएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । 

घरमै खेलेकी बालिकादेखि घाँस काट्ने महिलाले ज्यान गुमाए

गत ३ पुस ०७७ मा चन्द्रकोट गाउँपालिका ८ की ५ वर्षीया जस्मिन कुमालको पनि डोजरले फालेको ढुंगाले  लागेर ज्यान गयो । घरमै खेल्दै गरेकी कुमाललाई लु १ क २३६२ नम्बरको डोजरले पल्टाएको ढुंगाले  लागेपछि ज्यान गएको थियो । त्यस्तै १२ कात्तिक ०७७ मा धुर्कोट गाउँपालिका ३ की ४१ वर्षीया सेककुमारी मुखियाको पनि डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गएको थियो । घाँस काट्दै गरेकी मुखियालाई लु १ क १३०३ नम्बरको डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निर्माण व्यवसायी सडकमा डोजर सञ्चालन गर्दा प्रहरी प्रशासन, योजना कार्यान्वयन गर्ने कार्यालय र स्थानीयलाई सूचना दिनुपर्छ । तर, गुल्मीका ठूला–साना निर्माण व्यवसायीले मनलाग्दी गर्ने गरेका छन् । आफूअनुकूल काम गर्ने, अनियमित सडक बन्द गर्ने र समयमै काम नगरेर स्थानीयलाई निकै सास्ती पुर्याउने गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले निर्माण व्यावसायीले मनपरी सडक बन्द गरेको विषयमा सूचना र गुनासा आइरहेकोले प्रशासनले आवश्यक योजना बनाउने बताए । 

सुझावित समाचार