रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ को साँखमा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविरमा झन्डै २ सयजना महिलाहरू सेवा लिन पुगे । ग्लोबल आइएमई बैंकले नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा बिहीबार एकदिने शिविर आयोजना गरेको थियो ।
गाउँमै निःशुल्क शिविर भनेपछि आफूमा समस्या छ भन्ने लागेका महिलाहरू जचाउन आए । जसक्रममा अधिकांश महिलाहरूको पाठेघरमा समस्या देखियो । भिआइए विधिबाट १ सय ४१ जना महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेकामा एकजनाको रिजल्ट पोजेटिभ आएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक वसन्त खनालले बताए । ‘यो भनेको क्यान्सरको शंका हो । क्यान्सर हो कि होइन भनेर पुष्टि गर्नका लागि भने अन्य जाँच गर्नुपर्छ,’ खनालले भने ।
जाँच गरिएका अन्य महिलाहरूको पाठेघरमा मासु पलाउने र घाउको समस्या देखिएको खनाल बताउँछन् । उनका अनुसार शिविरमा जाँचका लागि आएका ११ जना महिलाको पाठेघर खसेको छ । उनीहरूमा रिङ प्रेसरी राखिएको छ । ५ जना महिलाहरूको पाठेघरको भने अप्रेसन गर्नुपर्ने देखिएको छ । उनीहरूलाई निःशुल्क अप्रेसनको व्यवस्था मिलाइने खनालले बताए ।
समय मिलाएर उनीहरूलाई दाङ बोलाउने उनको भनाइ छ । ‘हामीले स्क्रिनिङ गरेर अप्रेसन गर्नुपर्ने महिलाहरूको पहिचान गरेका छौँ,’ उनले भने, ‘अब उनीहरूलाई समय मिलाएर अप्रेसनका लागि बोलाउँछौँ। दाङ, काठमाडौंलगायत ठाउँका अस्पतालमा निःशुल्क अप्रेसनको व्यवस्था हुनेछ ।’
साँख स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो । तर, यो स्वास्थ्य चौकीमा हालसम्म यस्ता समस्या लिएर कोही पनि महिला पुगेका थिएनन् । तर शिविर आयोजना भएको खबर सुनेपछि भने गाउँभरिका महिला जम्मा भए । यसको प्रमुख कारण लाज भएको शिविरमा खटिएका डाक्टर अमित लामगादेले बताए ।