विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम आएन : सांसद पौडेल

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम नआएको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी नीति ल्याइएको धारणा राखिन् । उनले शिक्षालाई समयानुकूल वैज्ञानिक बनाउने योजना सरकारसँग नरहेको दाबीसमेत गरिन् ।  

नीति तथा कार्यक्रममा शिक्षाक्षेत्रलाई बेवास्ता गरिए शिक्षा क्षेत्र तहसनहस हुने सांसद पौडेलको भनाइ छ । ‘विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम ल्याउन सकेको छैन । निजीकरण, व्यापारीकरण र माफियाकरण रोक्ने कुनै ठोस योजना छैन,’ उनले भनिन्, ‘सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी आएको नीतिले संविधानमा व्यवस्था भएबमोजिम माध्यमिक शिक्षालाई निःशुल्क गर्ने भन्ने पनि कार्यान्वयन भएको छैन ।’

 शिक्षालाई वैज्ञानिक बनाउने योजना, ठोस कार्यक्रम आउन नसकेको भन्दै शिक्षा क्षेत्रमा लापरबाही गरिएको उनको भनाइ थियो । शिक्षा पूर्ण रूपमा निःशुल्क गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने र कृषि तथा प्राविधिक शिक्षालाई जोडेर लानुपर्ने योजना सरकारसँग हुनुपर्ने, तर त्यसो नभएको उनले बताइन् । ‘वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको ठोस कार्यक्रम आउन सकेन । शिक्षा क्षेत्रलाई हेलचेक्रयाइँ गर्नु, बेवास्ता गर्नुले नेपालको शिक्षा तहसनहस हुने सम्भावना देखिन्छ,’ उनले भनिन् । 

सुझावित समाचार