पहिराेका कारण बाग्लुङ-गलकोट सडकखण्ड अवरुद्ध

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

बुधबार राति परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ–गलकोट सडकखण्डमा अवरोध भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले दर्जनभन्दा बढी स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका– ५ को घोडाबाँधेदेखि गलकोट नगरपालिका– १ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्रमा पर्ने लोकमार्गखण्डमा दर्जनभन्दा बढी स्थानमा माथिबाट आएको बाढीका कारण सडक अवरुद्ध भएको हाे । 

‘ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । रूख ढलेका छन्,’ बाग्लुङ बजारबाट गलकोट हिँडेका पत्रकार राम थापा अविरलले भने, ‘जिल्लाको पश्चिम जाने सवारीसाधन र बाग्लुङ बजार आउने सवारीसाधन बीचमै रोकिएका छन् । यात्रुहरू अलपत्रमा परेका छन् ।’ 

थापाका अनुसार घोडाबाँधेतर्फबाट जेसिबीले पहिरो हटाउन लागे पनि अझै केही घन्टा लाग्नेछ । गलकोट नगरपालिकाले नरेठाँटीतर्फबाट र घोडाबाँधेतर्फबाट दुईवटा जेसिबी प्रयोग गरी ठाउँठाउँका पहिरो हटाउन लागिएको गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिए । 

सडकमा रूखहरू पनि ढलेका कारण पहिरो हटाउन केही समय लाग्ने भण्डारीले बताए । अहिले बाग्लुङ सदरमुकाम आउने यात्रु र गलकोट, बुर्तिबाङ, निसी, तमान जाने यात्रुहरू बीचबाटोमै रोकिएका छन् । 

नरेठाँटीका ३५ घर उच्च चोखिममा 

बाढीकै कारण गलकोट नगरपालिका– २ नरेठाँटी बजार उच्च जोखिममा परेको छ । बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । जसपुरबाट झरेको पहिरो नकटेखोलामा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ । बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेका छन् । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरहरूसमेत जोखिममा परेको उनले बताए ।

‘नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घरहरू जोखिममा परेका छन्, एक घर–परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ,’ अध्यक्ष भण्डारीले भने, ‘अरू परिवारलाई पनि सार्नुपर्ने देखिन्छ ।’ 

बाढीका कारण घर डुबानमा परेपछि दुई घर–परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले नरेठाँटीको महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उनले बताए । 

रातभर स्थानीय र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरिएको उनको भनाइ छ । अध्यक्ष भण्डारीले रातभर मेसिन लगाएर बाढी नतर्काएको भए बजार नै डुबानमा पर्ने खतरा रहेको बताए । 

‘माथि जसपुरमा पहिरो गएछ, त्यसबाट नकटेखोलामा ठूलो बाढी आयो, बाढीले खोलाछेउका घरहरूमा क्षति पुर्‍याएको छ, हामीले रातभरि मेसन लगाएर बाढी तर्काउने प्रयास गर्‍यौँ,’ उनले भने, ‘मेसिन लगाएर बाढी नतर्काएको भए बजारनै डुब्ने थियो, केही हदसम्म भए पनि बजारमा बाढी पस्न पाएन ।’

See More On

सुझावित समाचार