लगातार आठौँ दिन घट्दै दुई हजारनजिक नेप्से

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

जेठ १३ देखि घट्न थालेको सेयर बजार परिसूचक नेप्से निरन्तर आठौँ कारोबार दिन पनि घटेको छ । मंगलबार नेप्से ४५ दशमलव ५९ अंकले घट्दै दुई हजार २० दशमलव ५९ अंकमा आइपुगेको हो । यो भनेको नेप्सेमा दुई दशमलव २१ प्रतिशतको गिरावट हो ।  जेठ १२ मा दुई हजार दुई सय ३९ दशमलव ६ अंकमा रहेको नेप्से आठ कारोबार दिनसम्ममा दुई सय १९ अंकले घटेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से करिब ४६ अंकले घट्दा लगानीकर्ता निकै आत्तिएका छन् । बजार घट्दै जाँदा अब बढ्छ भन्ने अपेक्षामा लगानी बढ्नेक्रम पनि देखिएको छैन । कारोबार रकम नबढेपछि अझै केही समय नेप्से सूचक ओरालो लाग्ने लगानीकर्ताको अनुमान छ । 

एक लगानीकर्ताले बजारमा केही सुधार आउँछ कि भन्दै ‘पर्ख र हेर्न’भन्दा पनि घाटा कम गर्न जति मूल्य आउँछ, त्यतिमै बिक्री गरेर फेरि बजारमा नफर्कने सोच बनाउन बाध्य भएको बताए । बजार धेरै ओरालो लाग्दा पनि बिक्री गर्नेको संख्या नघटेकाले लगानीकर्ताको धैर्यको बाँध फुट्न लागेको उनी बताउँछन् ।  ठूलो गिरावट आएको बजारमा १५ कम्पनीको सेयर मूल्य भने बढेको छ । त्यस्तै, एक सय ८१ कम्पनीको सेयर मूल्य घटेको छ । चिन्ताजनक गिरावटमा पनि नाफा कमाउन सक्ने कम्पनीमा सबैभन्दा अगाडि उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्डको मूल्य भने तीन दशमलव सातदेखि तीन दशमलव ८२ प्रतिशतसम्म बढेको छ । 

सबैभन्दा बढी घाटा खाने सेयरधनी भने हिमालयन बैंकका रहेका छन् । यसको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेको छ । त्यस्तै, सपोर्ट माइक्रो फाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य पाँच दशमलव ५१ देखि पाँच दशमलव ९९ प्रतिशतले घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट रहेका छन् । यी कम्पनीको सेयर तीन करोड २० लाख रुपैयाँदेखि ६ करोड ११ लाख रुपैयाँसम्मको कारोबार भएको छ । 

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा बढी घट्ने समूहमा म्यानुफ्याक्चर एन्ड प्रोडक्सन परेको छ । यसको सूचक दुई दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै, २ प्रतिशतभन्दा बढीले घट्ने अरू समूहमा बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ‘अन्य’ समूह रहेका छन् ।

See More On

सुझावित समाचार