महोत्तरीमा एक वर्षमा बलात्कारका १९ घटना

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्षको हालसम्म महोत्तरीमा बलात्कारका १९ घटना भएका छन् । साउन र भदौमा एक–एक, कात्तिकमा चार, मंसिरमा एक, पुसमा चार, माघमा एक, फागुनमा तीन, चैतमा दुई र जेठको तेस्रो सातासम्म दुई गरी बलात्कारसम्बन्धी १९ घटना भएको हो । महोत्तरीमा आर्थिक वर्ष ०७५/७६ मा ३०, ०७६/७७ मा १६ र ०७७/७८ मा ४४ बलात्कारका घटना भएका छन् । 

यस्तै, सातवटा बलात्कारका प्रयास भएका छन् । बाल यौन दुराचारसम्बन्धी घटना हालसम्म दुईवटा भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार नाबालिकामाथि बलात्कारका घटना अत्यधिक देखिएको छ । 

बालिका बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
गत १७ जेठमा मामाघर आएकी एक सात वर्षीया बालिका ६० वर्षीय वृद्धबाट बलात्कृत भइन् । मामाघरकै छिमेकमा आफ्नै उमेरका एक बालकसँग खेलिरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामआश्रय साहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । 

आफ्नो बाबुले नाबालिकालाई बलात्कार गरेको खबर सुनेका आरोपित साहका ३५ वर्षीय छोरा नवीन साहको हृदयाघातबाट मृत्यु भएको छ । बाबुले सात वर्षीया बालिका बलात्कार गरेको खबर थाहा पाएपछि भेट्न शनिबार जिल्ला प्रहरी कार्यालय पुगेका नवीनलाई त्यही वेला छाती दुख्न थालेको थियो । घर पुगेपछि अवस्था झन् बिग्रिएकाले उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, १६ जेठमा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीया नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेका छन् । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिई निगरानी कक्षमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले अपवादबाहेक बलात्कारका सबै घटनामा संलग्न आरोपी पक्राउ परेको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग र इन्टरनेटमा यौनजन्य सामग्रीको सहज उपलब्धताले बलात्कारको घटनालाई प्रोत्साहन गरेको उल्लेख गरे । स्कुलमा विद्यार्थीलाई यौन शिक्षा दिन अति आवश्यक रहेको बताउँदै पंगेनीले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र बालबालिकादेखि सबै उमेरसमूहका मानिसलाई बलात्कार र बलात्कार प्रयास जघन्य अपराध हो भन्ने बुझाउनु आवश्यक रहेको बताए । ‘बालबालिकाप्रति निगरानी तथा उनीहरूप्रतिको जिम्मेवारी बढाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘अपराध रोक्न प्रहरीले एक्लै नसक्ने भएकाले राजनीतिकर्मी, अभियन्ता सबैको सहयोग आवश्यक पर्छ ।’

सुझावित समाचार