नेपालमै पहिलोपटक अटिस्टिक बालबालिकाका लागि सरकारी विद्यालय र अनुसन्धान केन्द्र बन्दै

बिहिबार, १० मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- अटिजम भएका (अटिस्टिक) बालबालिकाका लागि नेपालमै पहिलोपटक सरकारी विद्यालय र अनुसन्धान केन्द्र निर्माण सुरु भएको छ । अटिस्टिक विद्यार्थीको शिक्षा, सिप विकास, पुनर्स्थापना र अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाले बनाउन लागेको विद्यालय तथा अनुसन्धान केन्द्र भवनको बुधबार कार्यवाहक मेयर सुनीता डंगोलले शिलान्यास गरेकी हुन् ।

वडा नं. २९ को प्रशासनिक भवनको आडैमा बनाउन लागिएको उक्त भवन पाँचतले बन्नेछ । १८ हजार ५०० वर्गफिट क्षेत्र ओगट्ने भवनमा ३ हजार ५०० वर्षफिटको भूमिगत तलासमेत बनाइने डिजाइनिङ छ । भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार लम्बाइ ९२ फिट तथा चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिमतर्फ २२ फिटको हुनेछ । भवनको उचाइ १७ मिटरको हुने उनले बताए ।

भवनको भूमिगत तलामा ३० वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । उक्त तलामा खुला खेल्ने स्थान, मुख्य प्रवेशद्वारदेखि भर्याङ र आठजना क्षमताको लिफ्ट रहनेछन् । त्यस्तै पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष बन्नेछ भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष रहनेछन् । पाँचौँ तलामा बार्दलीसहितका संरचनाहरू बन्नेछन् । सुरुमा १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको भवन सार्वजनिक खरिद प्रक्रियाबाट नौ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको महानगरपालिकाले जनाएको छ । गत ३ मंसिरमा दिइएको कार्यादेशअनुसार ०८४ चैत मसान्तभित्र निर्माण सक्नुपर्नेछ ।

भवन शिलान्यास गर्दै कार्यवाहक मेयर डंगोलले महानगरपालिकाको सपना र अटिजम भएका बालबालिकाका अभिभावकको लामो समयदेखिको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन् । ‘हामी काठमाडौंलाई समतामूलक, समावेशी, करुणा, ममता र मानवतामा आधारित सहर बनाउन चाहन्छौँ, यही प्रयासअन्तर्गत अटिजम भएका बालबालिकाका लागि विद्यालय र अनुसन्धान केन्द्र निर्माण गर्न लागेका हौँ,’ उनले भनिन्, अटिजम र बौद्धिक अपांगता भएका बालबालिकालाई अलग्याउने उद्देश्यले विद्यालय बनाउन लागिएको नभई फरक आवश्यकता हो ।’

यो नेपालमै पहिलो अभ्यास भएको पनि डंगोलले बताइन् । सरकार, अभिभावक र पेसाकर्मीबिचको साझेदारीबाट मात्रै यस्ता कार्यक्रम दिगो बन्ने र भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार गरेर कार्यक्रम अघि बढाइने उनको प्रतिबद्धता छ ।

२९ नम्बर वडाका वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाको हेरचाह र सेवामा अभावका कारण अभिभावकले ठुलो पीडा भोग्नुपरेकाले यो योजना महŒवपूर्ण रहेको बताए । ‘अटिजम भएका बालबालिकाले आफ्नो समस्या र पीडा व्यक्त गर्न नसक्लान्, तर त्यसको पीडा अभिभावकले भोगिरहेका छन् । अभिभावकको यही पीडामा साथ दिन विद्यालय निर्माण गर्नु वडाका लागि पवित्र काम हो । यो हाम्रो गौरवको योजना पनि हो,’ उनले भने ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा उपस्थित अभिभावकहरू भावुक देखिन्थे । अटिजम भएका ३२ वर्षीय छोराकी आमा मीना ढुंगानाले छोराकै हेरचाहमा जीवनको ठुलो समय बिताउनुपरेको अनुभव सुनाइन् । ‘मेरो छोरो छिटो जन्मिएछ, अहिले भएको भए मलाई कति सजिलो हुन्थ्यो होला ! छोरो ३२ वर्षको भयो, मेरो पूरै समय उकै सेवामा खर्च भइरहेको छ । मैले जीवनमा अरू केही गर्न समय पाइनँ,’ उनले भनिन्, ‘यस्तो सुविधा पहिल्यै भएको भए मैले पनि केही गर्ने अवसर पाउने थिएँ होला । काठमाडौं महानगरपालिकाले हामीजस्ता अभिभावकका लागि निकै राम्रो काम गरेको छ, आज खुसीको सीमा नै छैन ।’

अर्का अभिभावक मिसान बान्तवाले निजी क्षेत्रमा अटिजम भएका बालबालिकाको शिक्षा तथा हेरचाहका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यत्रो खर्च धान्न कठिन भएको उनको भनाइ छ । ‘निजी क्षेत्रमा जाँदा मासिक ४० देखि ४५ हजार रुपैयाँ खर्च देखाउँछन् । यो त व्यहोर्नै सकिँदैन । महानगरपालिका हाम्रा लागि अभिभावक मात्र होइन, जीवनदाता नै भएको छ,’ उनले भने ।

सरकारसँग देशभर अटिजम भएका बालबालिका कति छन् भन्ने पछिल्लो यकिन तथ्यांकसम्म छैन । स्वास्थ्य मन्त्रालयले यस्ता बालबालिकाको पहिचान गर्ने अभियान भने चलाइरहेको छ । विभिन्न स्रोतका तथ्यांकअनुसार करिब ७ हजारको संख्यामा रहेको अनौपचारिक रिपोर्ट छ । राष्ट्रिय जनगणना २०७८ मा अटिजम भएका नागरिक ४ हजार ८८६ जना रहेको उल्लेख छ । अटिजम भएका बालबालिकाको हेरचाहका लागि निजी स्रोतबाट खोलिएका केही विशेष विद्यालय, पुनर्स्थापना केन्द्र र केयर सेन्टरहरू छन् । तर, ती पूर्ण रूपमा अटिजममैत्री छैनन् भने नियमित थेरापीसहित विद्यालय शुल्क निकै महँगो भएकाले अधिकांश अभिभावकले पढाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनीता मलेखु अमात्यले काठमाडौं महानगरपालिकाको अभिभावकत्व पाउँदा हर्ष व्यक्त गरिन् । ‘हामीले महानगरपालिकाको अभिभावकत्व पाएका छौँ, यसले हामीलाई ठुलो उत्साह दिएको छ,’ उनले भनिन् ।

पौने १० करोड लगानीमा पाँचतले भवन बनाउँदै काठमाडौं महानगर
nullकाठमाडौं महानगरपालिका २९ नम्बर वडाको प्रशासनिक भवनको आडैमा पाँचतले भवन बनाउन शिलान्यास गरिएको छ । १८ हजार पाँच सय वर्गफिट क्षेत्र ओगट्ने भवनमा तीन हजार पाँच सय वर्षफिटको भूमिगत तलासमेत बनाइने डिजाइनिङ छ । भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार लम्बाइ ९२ फिट तथा चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिमतर्फ २२ फिटको हुनेछ । भवनको उचाइ १७ मिटरको हुने उनले बताए ।

भवनको भूमिगत तलामा ३० वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । उक्त तलामा खुला खेल्ने स्थान, मुख्य प्रवेशद्वारदेखि भर्याङ र आठजना क्षमताको लिफ्ट रहनेछन् । त्यस्तै पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष बन्नेछ भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष रहनेछन् । पाँचौँ तलामा बार्दलीसहितका संरचनाहरू बन्नेछन् । सुरुमा १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको भवन सार्वजनिक खरिद प्रक्रियाबाट नौ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको महानगरपालिकाले जनाएको छ । गत ३ मंसिरमा दिइएको कार्यादेशअनुसार ०८४ चैत मसान्तभित्र निर्माण सक्नुपर्नेछ । 

सुझावित समाचार