क्यानले सुवासलाई बोलायो

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

 विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बोलाइएको छ । पहिलो रोजाइका ओपनर आसिफ सेख र कुशल भुर्तेल घाइते भएपछि सुवासलाई टोलीमा बोलाइएको हो । 

विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आयोजक अमेरिकासहित ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली टोली अहिले अमेरिकामै छ । नेपाल क्रिकेट संघ (क्यान)ले २६ जेठमा ओमानविरुद्धको पहिलो खेलमा आसिफ र कुशलको खेल्ने सम्भावना कम रहेको जनाएको छ । यी दुवै खेलाडीको स्थानमा सुवासलाई बोलाएको हो । अमेरिकामा हुने त्रिकोणात्मक शृंखलाका लागि राखिएको बन्द प्रशिक्षणमा सुवासले राम्रो प्रदर्शन गरेका थिए । 

बन्द प्रशिक्षणमा ब्याटिङ र किपरमा राम्रो प्रदर्शन गरेका कारण नै सुवासलाई टोलीमा समावेश गरेको क्यानले जनाएको छ । नेपाली अल स्टार्ससँगको अभ्यास खेलमा आसिफको घुँडामा चोट लागेको थियो । उनी खेलमा ‘रिटार हर्ट’ भएका थिए । सोही खेलमा ओपनर कुशल फिल्डिङ गर्ने क्रममा घाइते भए । कुशललाई ह्याम्स्ट्रिङ समस्या देखिएको छ । नेपालका अनुभवी विकेट किपर ब्याट्सम्यान सुवासले अन्तर्राष्ट्रिय करिअरमा पाँच एकदिवसीय खेल खेलेका छन् ।

उनले पाँच एकदिवसीय खेलमा ९४ रन बनाएका छन् । यस क्रममा उनले एक अर्धशतकीय इनिङ्स पनि खेले । यसैगरी, आठ अन्तर्राष्ट्रिय टी–२० खेलमा सुवासले एक सय १२ रन बनाएका छन् । उनले टी–२० खेलमा पनि एक अर्धशतक बनाएका छन् । सुवासले १३ लिस्ट एमा दुई सय २० रन जोडेका छन् । यस फम्र्याटमा उनले दुई अर्धशतक बनाएका छन् । 

सुझावित समाचार