सातामा पाँच दिन भएको कारोबारमा सेयर बजार एक सय ४५ दशमलव शून्य सात अंकले घट्न पुगेको छ । बजार १७ महिनाकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ताले लगानी बढाउन थालेका छन् । तत्काल सेयर बिक्री गरेर जाने भन्दा पनि बजार होल्ड गरेर सेयर खरिद गर्नेको चाप देखिएको एक ब्रोकरले बताए । सातामा ६ दशमलव ५२ प्रतिशतको नोक्सानपछि नेप्से परिसूचक दुई हजार ७८ दशमलव ७१ बिन्दुमा आइपुगेको छ । गत साता दुई हजार दुई सय २३ दशमलव ७८ बिन्दुमा बजार बन्द भएको थियो ।
यस साता उच्चतम दुई हजार दुई सय ३२ दशमलव २३ बिन्दुबाट ओर्लिएर दुई हजार ७२ दशमलव शून्य आठको न्यूनतम बिन्दुसम्म पुगेको थियो । नेप्सेमा यस साता ५९ दशमलव ६८ अंकको अस्थिरता बजारले देखाएको छ ।बजार निकै घटेपछि लगानीकर्ता आन्दोलनको घोषणा गर्नेसम्मको अवस्थामा पुगेका छन् । बजेटमा पनि पुँजी बजारलाई समेट्न नसकेको आरोप लगानीकर्ताले लगाएका छन् भने विशेष गरी राष्ट्र बैंकले एकल ग्राहकले एक बैंकबाट लिन सक्ने कर्जा रकम सीमा र सबै प्रणालीबाट लिन सक्ने कर्जा सीमामा संशोधन गर्न विगतदेखि नै माग गर्दै आइरहेका छन् ।
एक बैंकबाट अधिकतम चार करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा १२ करोड रुपैयाँसम्म लिन पाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ । असारसम्म कम्तीमा यो सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।बजार घटे पनि कारोबार रकम अघिल्लो हप्ताको तुलनामा ९ प्रतिशतले बढेको छ । अहिले सेयरको मूल्य निकै सस्तो बन्दा लगानीकर्ता बजार भाउ बढाइरहेका छन् । यस साताभरि नै बजार निरन्तर घट्न पुग्यो । तर, कारोबार रकम भने औसत दैनिक एक अर्ब २४ करोड रुपैयाँको भइरहेको छ ।
साताभरिमा १३ वटै समूहका सूचक घटेका छन् । टे«डिङ समूहको ११ दशमलव ४३ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बिमा समूहको सूचक १० प्रतिशतले घटेको छ । उत्पादनमूलक समूह र माइक्रो फाइनान्स समूहको सूचक ८ प्रतिशतले घट्दा माइक्रो फाइनान्सको समूहको सूचक ६ दशमलव ९० प्रतिशतले घटेको छ । साताभरिमा तीनवटा कम्पनीले सबैभन्दा धेरै नाफा कमाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीले ४९ दशमलव शून्य ७ प्रतिशतले नाफा कमाएको छ भने उपकार लघुवित्त वित्तीय संस्थाले ३९ दशमलव ४६ प्रतिशतले नाफा आर्जन गरेको छ । त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाका सेयरधनीले एक दशमलव ८२ प्रतिशतले नाफा आर्जन गरेका छन् ।
सातभरिमा एनआइसी एसिया बैंकको सेयर २५ करोड ३८ लाख रुपैयाँको किनबेच भएको छ । यो सबैभन्दा बढी कारोबार रकम हो । त्यस्तै, हिमालयन डिस्टिलरीको १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंकको १७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साताभरिमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २९ दशमलव ७४ प्रतिशतले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर २८ प्रतिशतले घटेको छ । त्यस्तै, किसान लघुवित्त २७ प्रतिशतले घटेको छ ।
लगानीकर्ताले भेटेपछि गभर्नरलाई प्रधानमन्त्रीको फोन
सेयर बजारमा निरन्तर गिरावट आएसँगै लगानीकर्ताले आइतबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । बालुटारमा पुँजी बजार संघका पदाधिकारीसँग छलफल भएको हो । लगानीकर्ताको कुरा सुनिसकेपछि प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी तत्काल पुँजी बजारमा देखिएका समस्या हल गर्न निर्देशन दिएका छन् ।
पुँजी बजारमा देखिएका समस्या समाधान गरिदिन र लगानीकर्ताले उठाउँदै आएका मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीसँग भेटवार्ता गरेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।