एकीकृत समाजवादीका मन्त्री हेरफेर

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

एमाले फुटाएर बनेको एकीकृत समाजवादीले सरकारमा सहभागी भएको आठ महिनामै मन्त्रीहरू हेरफेर गर्ने भएको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले पार्टीबाट सहभागी पुराना मन्त्रीलाई फिर्ता बोलाउने र रिक्त स्थानमा नयाँलाई पठाउने निर्णय गरेको हो ।

पार्टी निर्णयलगत्तै अध्यक्ष माधवकुमार नेपालले मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेका छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई भने बढुवा गरेर स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरिएको छ । 

एकीकृत समाजवादीबाट यसअघि विरोध खतिवडा स्वास्थ्य, प्रेमबहादुर आले पर्यटन, रामकुमारी झाँक्री सहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री थिए । उनीहरू २२ असोजमा पार्टीका तर्फबाट गठबन्धन सरकारमा सहभागी भएका थिए । मन्त्रीका लागि थुप्रै आकांक्षी देखिएपछि अध्यक्ष नेपालले बाँकी नेताहरूलाई ६ महिनापछि मन्त्रिपरिषद्मा पठाउने आश्वासन दिएका थिए । 

फिर्ता बोलाइएका मन्त्रीहरूले भने पार्टी निर्णयप्रति असन्तुष्ट जनाएको स्रोतको भनाइ छ । स्वास्थ्यमन्त्री खतिवडा र पयर्टनमन्त्री आलेले अध्यक्ष नेपाललाई बेग्लै भेटेर निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले छोटो अवधिमै परिवर्तन गर्दा राम्रोसँग कार्यसम्पादन गर्न नपाएको र हेरफेरले राम्रो सन्देश नगएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ । 
 

सुझावित समाचार