१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको सौराहामा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, सञ्चालक समिति, व्यवस्थापन समितिसहितको सहभागितामा देशभरका दुई सय ८८ शाखाबाट उपस्थित शाखाका प्रबन्धकहरूको सहभागितामा तीन दिनसम्म सम्मेलन चलेको थियो ।

बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको सम्मेलनमा चार सयभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनले बैंकको आगामी योजना, लक्ष्य र कार्यक्रमलाई घोषणापत्रमा समेट्दै सम्पन्न भएको हो । सम्मेलनका क्रममा सातवटै प्रदेशको छुट्टाछुट्टै समूहमा छलफल गरी आगामी आर्थिक वर्षका लागि योजना र आर्थिक लक्ष्यसमेत तयार पारिएको थियो ।

सम्मेलनमा सहभागीहरूले शनिबार वित्तीय साक्षरता जगाउने उद्देश्यले डिजिटल बैंकिङसम्बन्धी सचेतना र्‍याली निकालेका थिए । नारायणी नदी–किनारबाट सुरु भएको र्‍याली पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्स हुँदै भरतपुर हाइटमा पुगेर समापन भएको थियो । बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले र्‍यालीलगत्तै भरतपुरमा ग्लोबल आइएमई बैंकको क्षेत्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् ।

भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको यस अत्याधुनिक भवनको लागत ३० करोड छ । भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने नारा नै आफूहरूको भएको भन्दै गुणस्तरीय सेवाका लागि आफ्नो टिम सधैँ तत्पर रहनुपर्ने बताए  ।  

तीनवटा देशमा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय रहेको बैंकका दुई सय ८८ वटा शाखा कार्यालय, दुई सय ६० वटा एटिएम, दुई सय ७५ वटा शाखारहित बैंकिङ सेन्टर र ५१ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन् । यस्ता सम्मेलनले कार्मचारीमा हौसलासँगै काममा थप दक्षता ल्याउने बैंकका नारायणगढ शाखा प्रमुख लक्ष्मण पौडेल बताउँछन् ।  

सुझावित समाचार