रिकेशलाई आइटिएफ तेक्वान्दो उपाधि

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङले सातौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको बनेपामा शनिबार सम्पन्न फाइनलमा रिकेशले बागमती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । रिकेशले ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपिएफका सागर विक तेस्रो भएका छन् । 

अनिलले ५० हजार र सागरले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट तीन खेलाडी छनोट भएर आउनुपर्ने प्रावधान थियो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सदस्यसचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गरेका छन् । उनले प्रतियोगिताबाट स्थानीय युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए । ‘यस किसिमका व्यावसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ,’ घिसिङले भने, ‘मैले यो खेललाई नवौँ राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु ।’ 

नेपाल अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पछिल्लो समय नेपालको खेलकुदमा सदस्यसचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए । ‘खेलभावना बुझेको र लामो समयदेखि खेल संघको नेतृत्व गर्दै आउनुभएका खेल पदाधिकारीलाई नेपालको खेल क्षेत्रको नेतृत्वका रूपमा पाएका छौँ,’ धमलाले भने, ‘खेलाडी, प्रशिक्षक र खेल संघको भावना बुझेर उहाँले काम गरिरहनुभएको आभास हामीले पाएका छौँं ।’

सुझावित समाचार