अघिल्ला तीन आइजिपीझैँ धीरजप्रतापको पनि दाबी : मेरै कार्यकालमा निर्मला पन्त हत्याको अनुसन्धान निष्कर्षमा पुग्छ

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण
अघिल्ला तीन आइजिपीझैँ धीरजप्रतापको पनि दाबी : मेरै कार्यकालमा निर्मला पन्त हत्याको अनुसन्धान निष्कर्षमा पुग्छ

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइजिपी धीरेन्द्रप्रताप सिंह (बीचमा)

संगठन प्रमुखमा नियुक्त भएको महिनादिनपछि नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंहले ‘निर्मला पन्त हत्या अनुसन्धान आफ्नै कार्यकालभित्र निष्कर्षमा पुग्ने’ भनाइ सार्वजनिक गरेपछि चार वर्षअघिदेखि नसुल्झिएको एउटा कसुरतर्फ सर्वसाधरणको ध्यान पुनः खिँचिएको छ । 

निर्मला पन्त हत्या एउटा यस्तो जघन्य कसुर हो, जसको अनुसन्धान गर्न फरक–फरक पाँच समिति बने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै कारबाहीमा परे । भलै उनीहरूविरुद्धको कारबाही पछि फुकुवा भयो । तर, कसुरको गुत्थी खुल्न सकेन । आइजिपी सिंहले बिहीबार पत्रकारसँगको भेटमा भने, ‘निर्मला पन्त हत्या अनुसन्धान नयाँ मोडमा पुगेको छ । हाम्रा टोली अनुसन्धानमै छन् । आशा छ, मेरै कार्यकालभित्र यसले पक्कै निष्कर्ष पाउनेछ ।’ 

१० साउन ०७५ मा कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनी भोलिपल्ट उल्टाखामस्थित उखुबारीमा मृत फेला परेकी थिइन् । चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो भने तत्कालीन आइजिपी सर्वेन्द्र खनालले तत्कालीन एआइजी धिरु बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरी अनुसन्धान अगाडि बढाए । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संगठनले पनि अनुसन्धान टोली घटनास्थल पठाएको थियो । तर, अनुसन्धान निष्कर्षमा पुग्न सकेन । फरक–फरक अनुसन्धान प्रतिवेदनले घटना झन् गिजोलिन पुग्यो ।

हेमन्त मल्ल, पूर्वडिआइजी

निर्मला पन्त हत्या जटिल प्रकृतिको देखिन्छ । यस्ता घटना अनुसन्धान गर्न समय लाग्छ । घटनास्थलमा अनुसन्धानकर्तालाई लामो अवधिसम्म निरन्तर खटाउनुपर्छ । उनीहरूको करिअर पनि सुनिश्चित गरिनुपर्छ । यस्तोमा नेतृत्वको इच्छाशक्ति, हौसलाविना सम्भव हुँदैन । निर्मला पन्त हत्या अनुसन्धानमा संगठन प्रमुखले देखाएको चासोले पक्कै नयाँ अर्थ राख्नेछ ।

यस पृष्ठभूमिमा आइजिपी सिंहबाट सार्वजनिक अभिव्यक्तिलाई सर्वसाधारणले अर्थपूर्ण मानेका छन् । किनभने, उनी नेपाल प्रहरीका प्रमुख मात्र नभई एक कुशल अनुसन्धानकर्ता पनि हुन् । संगठन प्रमुखमा जागेको इच्छाशक्तिले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतहरूको विश्वास छ । 

घटनास्थलमा जिल्ला, प्रदेश र सिआइबीका छुट्टाछुट्टै टोली 
निर्मला पन्त हत्या अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छुट्टाछुट्टै टोली घटनास्थलमा अनुसन्धानरत छन् । उनीहरूमध्ये कति देखिने त कति नदेखिने भूमिकामा रहेर घटनाको अनुसन्धान गरिहेका छन् । यसक्रममा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरेको छ । उपलब्ध प्रमाणसँग भेरिफाई गरिरहेको छ । 

सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले घटनास्थलमा अनुसन्धान टोली रहनु स्वाभाविक रहेको बताए । उनले भने, ‘निर्मला पन्त हत्या जटिल प्रकृतिको घटना हो । यसको अनुसन्धानमा प्रहरी टोली घटनास्थलमा रहनु स्वाभाविक हो । यस्ता घटनामा समय लाग्छ । यसो भन्दैमा अनुसन्धान थाती राख्ने विषय रहेन । त्यसो हुँदा अनुसन्धान जारी छ ।’

लामो अनुसन्धानबाट रहस्य खुलेका केही घटना

- सन् १९९५ मा अमेरिकाको उताह बस्ने १७ वर्षीय क्यास्टल बेस्लनोवीच दिनदहाडै बेपत्ता भइन् । १४ डिसेम्बर १९९५ मा हराएकी उनको शव उताहकै प्रोभो नदीकिनारामा भेटियो । नग्न अवस्थामा भेटिएकी उनको हत्या गरिएको आशंका गरियो । तर, प्रमाणित गर्न मुस्किल पर्‍यो । अन्ततः घटना भएको १८ वर्षपछि सन् २०१३ मा अनुसन्धान निष्कर्षमा पुग्यो । 

- उत्तरमध्यअमेरिकास्थित साउथ डकोटा बस्ने सेरी मिलर र पाम ज्याक्स एकाएक बेपत्ता भए । सन् १९७१ मा बेपत्ता भएका १७ वर्षीया दुई किशोरीको शव ४२ वर्षपछि बु्रल क्लर्क नदीमा कारभित्र फेला पर्‍यो । लामो अनुसन्धानपछि घटनामा संलग्न पक्राउ परे । 

- घटना भएको १२ वर्षपछि अनुसन्धानले निष्कर्ष हासिल गरेको नेपालकै रानीबारी हत्याकाण्ड उदाहरणीय छ । ३१ असार ०५९ मा काठमाडौंको रानीबारीस्थित घरमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको हत्या भयो । घटना रहस्यमय थियो । सुरुमा प्रहरीले अभियुक्त खोज्न कुनै क्लु फेला पारेन । तर, प्रहरीले अनुसन्धान जारी राखेको थियो । अन्ततः घटनाको १२ वर्षपछि घटनामा संलग्न मनराज गुरुङ र प्रशेच चौहान पक्राउ परे । 

रानीबारी हत्या अनुसन्धानका नेतृत्वकर्ता पूर्वडिआइजी हेमन्त मल्ल यस्ता घटनाको अनुसन्धानमा समय लाग्ने भएको हुँदा संगठन नेतृत्वकर्ताको निरन्तर हौसला, इच्छाशक्ति र निरन्तरताले ठूलो भूमिका राख्ने बताउँछन् ।

अघिल्ला तीन आइजिपी सफल भएनन्
आइजिपी नियुक्त भएलगत्तै शैलेश थापा क्षेत्रीले पनि निर्मला पन्त हत्या अनुसन्धान संगठनको पहिलो प्राथमिकतामा रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । अनुसन्धानमा अब्बल उनी गिजोलिएको यो घटना सल्टाएर जस लिन चाहन्थे । यसका लागि उनले पनि अनुसन्धानलाई निरन्तरतामा राखे । विशेषज्ञ टोली घटनास्थल खटाए । तर, उनको कार्यकालमा अनुसन्धान निष्कर्षमा पुग्न सकेन । 

पाँच महिना मात्रै आइजिपी भए पनि ठाकुर ज्ञवालीको पालामा निर्मला पन्त हत्या अनुसन्धान निष्कर्षमा पुग्ने धेरैको आशा थियो । किनकि, पन्तको हत्या भएको ६ दिनपछि सिआइबी टोलीको नेतृत्व गर्दै उनी नै घटनास्थल पुगेका थिए । उनकै टोलीले घटनाको अनुसन्धान गरेको थियो । उनकै सुपरीवेक्षणमा डिएसपी अंगुर जिसी घटनास्थलमा खटिएका थिए । उनी पक्राउ परेका अभियुक्तसँग भएका बयानमा बसेका थिए । अनुसन्धान प्रतिवेदन अध्ययन गरेका थिए । तर, उनको कार्यकालमा पनि अनुसन्धानले निचोड लिएन । 

उनीअघिका प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि पन्त हत्या अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन चाहन्थे । उनकै नेतृत्वकालमा घटना भएको र उनी सफल अनुसन्धान पृष्ठभूमिबाट आएकाले उनीमाथि धेरैको आशा थियो । त्यति मात्र होइन, हत्या अनुसन्धान गिजोलिँदा उनी दबाबमा पनि थिए । कुनै हालतमा अनुसन्धानलाई मुकाममा लग्न चाहेका उनले मातहतका एआइजी धिरु बस्नेतको नेतृत्वमा छानबिन समिति बनाए । त्यसबाट पनि निष्कर्ष ननिस्केपछि डिआइजी सुरज केसीको नेतृत्वमा अर्को समिति बनाए । अनुसन्धानकै लागि एसपी दुर्गा सिंहलाई झन्डै ६ महिना कञ्चनपुर खटाए । तर, उनको कार्यकालमा पनि निर्मला बलात्कार र हत्याको रहस्यको गाँठो खुल्न सकेन ।

सुझावित समाचार