पौडेलको हत्यामा संलग्नलाई कारबाहीको माग

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

गत ३० वैशाखमा मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न परिवारले माग गरेको छ । पीडित परिवारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपत्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो । 

मृतकका माइला बुबा खड्गभक्त पौडेलले राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्ने विषयमा प्रहरीले असयोग गरेको भन्दै गुनासो गरे । चार–पाँचजनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुन सक्ने परिवारको आशंका छ । शव परीक्षण गरेपछि मृत्युको कारण डाक्टरलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको परिवारको भनाइ छ । खड्गभक्तले घटनाको ११औँ दिनमा सिमराका प्रहरी नायब उपरीक्षक आएर छिमेककी सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको बताए ।

घटनामा शंकास्पद ११ जनाको नाममा गत ३ जेठमा जाहेरी दिएको पौडेलको भनाइ छ । राकेश बारा जितपुर सिमरा उपमहानगरपालिका–६ नगौल टोलस्थित दलबहादुर क्षेत्रीको घरको भर्याङको नजिक तल माटोको भुइँमा मृत फेला परेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।

सुझावित समाचार