खोरमा राखिएका शिवराजको उपचार नगरपालिकाले गर्ने

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण
खोरमा राखिएका शिवराजको उपचार नगरपालिकाले गर्ने

खोरमा शिवराज विश्वकर्मा । मानसिक सन्तुलन गुमाएका उनले उपचार नपाउँदा नजिक पर्ने जोकोहीलाई पनि आक्रमण गर्न थालेपछि परिवारले उनलाई राख्न घरनजिकै बनाएको बलियो खोर (दायाँ)

उपचार अभावमा ६ वर्षदेखि खोरमा राखिएका उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुरका मानसिक रोगी शिवराज विश्वकर्माको उपचारको जिम्मा नगरपालिकाले लिएको छ । बुधबार नयाँ पत्रिकामा ‘उपचार अभावमा ६ वर्षदेखि खोरमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि बिहीबार विश्वकर्माको घर पुगेका चौदण्डीगढीका नवनिर्वाचित मेयर कालुमान लामाले उपचारको जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाएका हुन् । 

‘शिवराजको घर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ । पाँच वर्षअघि पाटन मानसिक अस्पतालमा उपचार गरेर ल्याइएको रहेछ । ठीक पनि भएको थियो रे । जीवनभर खानुपर्ने औषधि नपाएपछि पुनः मानसिक रोग बल्झिएछ,’ उनले भने, ‘शिवराजको उपचारका लागि एकपटक पाटन मानसिक अस्पतालमा सकेसम्म आफैँ गएर बुझ्छु, नसके कसैलाई पठाउँछु । नगरपालिकाले सिफारिस गर्दा निःशुल्क हुने रहेछ भने पनि गर्छु । नभए नगरपालिकाकै खर्चमा भए पनि एकपटक उपचार गर्छौँ ।’

सुमित्रा विश्वकर्मा शिवराजकी आमा 
मेयरसाबले उपचार गरिदिन्छु भन्नुभएको छ । अब छोराको उपचार हुन्छ कि भन्ने आशा पलाएको छ ।

लामाले अन्य निःशुल्क उपचार गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको खोजी गर्ने पनि बताए । ‘उपचारका लागि विकल्पको पनि खोजी हुन्छ । विकल्प नपाए पनि नगरपालिकाले खर्च व्यहोरेर उपचार गर्छ,’ उनले भने ।

शिवराजकी आमा सुमित्रा विश्वकर्माले नगरप्रमुख आएर नि:शुल्क उपचार गरिदिने वचन दिएको बताइन् । ‘मेयरसाबले उपचार गरिदिन्छु भन्नुभएको छ । अब छोराको उपचार हुन्छ कि भन्ने आशा पलाएको छ,’ उनले भनिन् ।

विपन्न परिवारले आर्थिक अभावमा उपचार गर्न नसकेपछि शिवराजको स्वास्थ्य नाजुक बन्दै गएको थियो । मानसिक समस्याको औषधि सेवन गर्न नपाएपछि शिवराज जोकसैलाई नजिक भेटे आक्रमण गर्छन् । त्यसैले परिवारले घरनजिकै बलिया काठले बारेको खोर बनाएर राखेको छ । 

काठमाडौंमा ज्याला–मजदुरी गर्ने शिवराज १२ वैशाख ०७२ मा महाभूकम्प गएपछि अचानक बेपत्ता भए । एक सातासम्म पनि सम्पर्कमा नआएपछि परिवारले ‘ज्यान गयो होला’ भनेर माया नै मारेका थिए । प्रहरीमा भने निवेदन गरेका थिए । केही दिनपछि प्रहरीले शिवराजलाई चितवनको जंगल क्षेत्रमा नांगै अवस्थामा भेटेको थियो ।

खबर पाएपछि परिवारका सदस्यले बुझेर घर लगेका थिए । शिवराजको मानसिक सन्तुलन कायम गर्न परिवारले धामीझाँक्रीदेखि विराटनगरका क्लिनिक हुँदै पाटन मानसिक अस्पतालसम्म ल्याएका थिए । तर, आर्थिक अभावमा पूर्ण उपचार गर्न नसकेपछि शिवराजको स्वास्थ्य झन् खराब बन्दै गएको हो । 

सुझावित समाचार