उपचार अभावमा ६ वर्षदेखि खोरमा

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

०७२ को भूकम्पमा काठमाडौंबाट बेपत्ता भएका उदयपुरका शिवराज विश्वकर्मा मानसिक सन्तुलन गुमाएको अवस्थामा चितवनमा फेला परे, विपन्न दलित परिवारले ऋणधनबाट जुटाएको पैसाले पूर्ण उपचार गर्न सकेन, सरकारबाट आश्वासनबाहेक केही नपाएपछि विवश परिवारले उनलाई खोरमा थुनेर राखेको छ

खोरमा शिवराज विश्वकर्मा । मानसिक सन्तुलन गुमाएका उनले उपचार नपाउँदा नजिक पर्ने जोकोहीलाई पनि आक्रमण गर्न थालेपछि परिवारले नै घरनजिकै बलियो खोर (दायाँ) बनाएर राखेको छ । 

१२ वैशाख ०७२ मा महाभूकम्प जाँदा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुरका शिवराज विश्वकर्मा काठमाडौंमा थिए । ज्याला–मजदुरी गर्ने उनी भूकम्प आएसँगै अचानक बेपत्ता भए । एक सातासम्म पनि सम्पर्कमा नआएपछि परिवारले ‘ज्यान गयो होला’ भनेर माया नै मारे । प्रहरीमा भने निवेदन गरिसकेका थिए ।

केही दिनपछि प्रहरीले शिवराजलाई चितवनको जंगल क्षेत्रमा नांगै अवस्थामा भेट्यो । खबर पाएपछि परिवारका सदस्यले बुझेर घर लगे । शिवराजको मानसिक सन्तुलन केही गुमिसकेको थियो । आर्थिक रूपमा विपन्न परिवारले सुरुमा धामीझाँक्रीदेखि विराटनगरका क्लिनिकसम्म दौडाए, तर बेथा झन् चर्कियो । 

त्यसपछि परिवारले ऋण गरेर शिवराजलाई उपचारका लागि काठमाडौंको पाटनस्थित मानसिक अस्पतालमा लग्यो । ६ वर्षअघि त्यहाँको उपचारले उनमा सुधार आइरहेको थियो । तर, ऋण गरेर जुटाएको पैसाले धेरै दिन भरथेग गर्न सकिएन, राजधानीमा खान र बस्नै नसक्ने भएपछि शिवराजलाई गाउँ ल्याइयो ।

‘विराटनगरमा उपचार गर्दा नै थुप्रै खर्च लाग्यो, तर सञ्चो भएन । त्यसपछि ललितपुरको पाटन मानसिक अस्पतालमा यस्ता रोगीको उपचार हुन्छ भनेर लग्यौँ । त्यहाँ राम्रो सुधार भए पनि पूरै ठीक भएको थिएन । सहरमा बस्न–खानको खर्च धान्नै मुस्किल पर्‍यो । आर्थिक संकट परेपछि घर ल्यायौँ,’ आमा सुमित्रा विश्वकर्माले भनिन् । 

छोरालाई निको हुँदै जाला भन्ने आशा सुमित्रालाई थियो । तर, अस्पतालबाट घर फर्काएपछि शिवराजको स्थिति झन् खराब हुँदै गयो । चिकित्सकले भनेअनुसार परिवारले औषधि किनेर खुवाउन पनि सकेन । शिवराजको उपचारकै कारण ऋणमा डुबिसकेको परिवारले पैसाका लागि हात थाप्ने ठाउँ भएन । स्थानीय सरकारलाई गुहारे, तर पीडा कसैले सुनिदिएन । शिवराज घरका सदस्यलाई नै मारपिट गर्ने हालतमा पुगे । परिवारले अब कठोर र निर्मम विकल्प रोज्यो– खोर बनाएर थुन्ने । घरभन्दा १० मिटरको दूरीमा बलिया काठको बार लगाएर बनाएको खोरमा थुनिएको छ शिवराजलाई ।

घरभन्दा १० मिटरको दूरीमा बलिया काठको बार लगाएर बनाएको खोर

‘सहयोग जुट्ने ठाउँ भएन, उपचार गर्ने उपाय रहेन । आफ्नै छोरालाई पशुझैँ थुन्ने खोर बनाउन बाध्य भयौँ । ५–६ वर्षदेखि छोरो खोरभित्र छ । रातभर लामखुट्टेले टोक्छ । सर्पको पनि डर छ । राति पनि कराउँछ, बर्बराउँछ । केही भयो कि भनेर कुदेर हेर्न पुग्छु । हेर्दाहेर्दै कहिलेकाहीँ मन भक्कानिएर आउँछ । घप्लक्क अँगालो हानेर छातीमा टाँस्न मन लाग्छ । तर, के गर्नु, नजिक गयो भने आक्रमणबाट जोगिन गाह्रो हुन्छ । बिग्रिएको दिमागको उपचार गर्न नसकेर छोराको यो अवस्था भयो,’ बोल्दाबोल्दै उनी टोलाइन् ।

शिवराज घरको जेठो सन्तान हुन् । भाइ अर्जुन दाइको उपचारमा सात–आठ लाख खर्च भएको बताउँछन् । ‘दाइलाई ठीक होला कि भनेर विभिन्न ठाउँ पुर्‍याएर उपचार गर्‍यौँ । पाटन मानसिक अस्पतालमा केही ठीकजस्तो भएको थियो । पैसा सकिएर चाँडै नै घर फर्किनुपर्‍यो । औषधि किनेर खुवाउन पनि सकिएन,’ उनले भने, ‘दाइको उपचारमा सात–आठ लाख खर्च भयो । धेरै रकम ऋणबाटै जुटाएका थियौँ । तीन लाख ऋण तिर्न बाँकी छ । दाइको स्वास्थ्य झन् खराब छ ।’ 

खोरमा शिवराज विश्वकर्मा

शिवराजको उपचारका लागि परिवारले सक्दो पहल गर्‍यो । तर, खर्च अभाव भएपछि सरकारको ढोकामा ढकढक्यायो । मुख फोरेर भन्न सक्ने सरकारका मान्छे भन्नु नै आफैँले मत दिएर जिताएका स्थानीय जनप्रतिनिधि थिए । एक वर्षअघि निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदी ‘बलिदान’लाई उपचारमा सहयोगका लागि अपिल गरे । सुवेदीले पीडित परिवारलाई नगरपालिका पनि लगे । निवर्तमान मेयर खगेन्द्र राईसँग भेट गराए । सहयोग मिल्ने आश्वासन पाएर शिवराजको परिवार फर्किए । तर, अहिलेसम्म कुनै सहयोग मिलेको छैन ।

‘वडाध्यक्षले नगरपालिकामा लगेर मेयरलाई भेटाइदिनुभएको थियो । सरकारबाट निर्णय गराएर सहयोग गर्छौँ भन्नुभएको थियो । तर, अहिलेसम्म कुनै सहयोग मिलेको छैन,’ शिवराजका बुबा राजकुमार विकले गुनासो गरे । 

निवर्तमान मेयर राई नगर कार्यपालिकाले नगरभरका मानसिक रोगीको लगत संकलन गरेर उपचार गर्ने निर्णय गरिसकेको, तीन व्यक्तिलाई उपचारको व्यवस्था मिलाइसकेको र शिवराजलाई उपचारमा पठाउने तयारी हुँदै गर्दा चुनाव लागेर रोकिएको बताउँछन् । ‘५–६ महिनाअघि नै नगर कार्यपालिकाले नगरभरका मानसिक रोगीको तथ्यांक संकलन गरेर सबैको उपचार पालिकाले व्यहोर्ने निर्णय गरिसकेको छ । त्यसै निर्णयअनुसार दुई पुरुष र एक महिलालाई उपचारको व्यवस्था पनि भइसकेको छ । शिवराजलाई पठाउने तयारी हुँदै गर्दा चुनाव लाग्यो । यतै व्यस्त हुँदा पठाउन सकिएन,’ राईले भने । 

शिवराज विश्वकर्माको घर जुन सरकारको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो

शिवराजको नौजनाको परिवार छ । जनता आवास कार्यक्रममार्फत बनेको दुईकोठे घरमा सिंगो परिवार अटाएको छ । सम्पत्तिको नाममा ऐलानी चार कट्ठा जग्गा छ । अर्जुन बिहान–बेलुका छाक टार्न ज्याला–मजदुरी गर्छन् । आमा सुमित्रा शिवराजको स्याहारमा खटिन्छिन् । वृद्ध अवस्थाका बुबा राजकुमार काम गर्न सक्दैनन् । 

चुनावमा भोट माग्न आएका नेताहरूले दाइको अवस्था देखेर पनि नदेखेझैँ गरेको अर्जुनको गुनासो छ । ‘चुनावमा भोट माग्न नेताहरू आए । तर, देखेको–नदेखेझैँ गरे,’ उनले भने, ‘हामी परिवार दाइकै पीरले सधैँ तनावमा छौँ । अझै पनि उपचार पाएर दाइ सामान्य अवस्थामा फर्किएको हेर्ने आशामा छौँ ।’ 

आमाको पीडा– खोरमा छोरो राति पनि बर्बराउँछ, कराउँछ, कुदेर पुग्छु, घप्लक्क अँगालो हानेर छातीमा टाँस्न मन लाग्छ, तर के गर्नु ! आक्रमण गरिहाल्छ

भूकम्पका वेला काठमाडौंमा थियो, उतै बेपत्ता भयो । आमाको मन हो, ज्यान नै गयो कि भनेर अत्तालिन्थेँ । केही समयपछि चितवनमा भेटियो भन्ने खबर आयो । बिरामी रै’छ, घर ल्याएर धामीझाँक्री लगायौँ, विराटनगरका अस्पताल पनि पुर्‍यायौँ, तर सञ्चो भएन । बेथा झन् चर्कियो । गरिब परिवार हौँ । विराटनगरमा उपचार गर्दा नै थुप्रै खर्च भयो ।

त्यसपछि काठमाडौंको पाटन मानसिक अस्पतालमा यस्ता रोगीको उपचार हुन्छ भन्ने सुनेपछि त्यहाँ लग्यौँ । त्यहाँको उपचारले राम्रो सुधार भए पनि पूरै ठीक भएको थिएन । सहरमा बस्ने–खाने खर्च धान्नै मुस्किल पर्‍यो । आर्थिक संकट परेपछि घर ल्यायौँ । सहयोग जुट्ने ठाउँ भएन, उपचार गर्ने उपाय रहेन । आफ्नै छोरालाई पशुझैँ थुन्ने खोर बनाउन बाध्य भयौँ ।

६ वर्षजति भयो, छोरो खोरभित्र छ । रातभर लामखुट्टेले टोक्छ । सर्पको पनि डर छ । राति पनि कराउँछ, बर्बराउँछ । केही भयो कि भनेर कुदेर हेर्न पुग्छु । हेर्दाहेर्दै कहिलेकाहीँ मन भक्कानिएर आउँछ । घप्लक्क अँगालो हानेर छातीमा टाँस्न मन लाग्छ । तर, के गर्नु, नजिक गयो भने आक्रमणबाट जोगिन गाह्रो हुन्छ । बिग्रिएको दिमागको उपचार गर्न नसकेर छोराको यो अवस्था भयो । हाम्रो कोही भएन, भगवान्ले पनि देखेन ।

शिवराजका भाइ अर्जुन विश्वकर्मा भन्छन्–पैसा नभएर काठमाडौंको उपचार बीचमै छाडेर फर्किनुपर्‍यो

दाइलाई ठीक होला कि भनेर विभिन्न ठाउँ पुर्‍याएर उपचार गर्‍यौँ । पाटन मानसिक अस्पतालमा केही ठीकजस्तो भएको थियो । ऋण खोजेर लगेको पैसा सकिएपछि उपचार बीचमै छाडेर फर्किनुपर्‍यो । औषधि किनेर खुवाउन पनि सकिएन । दाइको उपचारमा सात–आठ लाख खर्च भयो । धेरै रकम ऋणबाटै जुटाएका थियौँ । तीन लाख अझै तिर्न बाँकी छ । दाइको स्वास्थ्य झन् खराब हुँदै छ । अझै पनि उपचार पाएर दाइ सामान्य अवस्थामा फर्किएको हेर्न पाउँछौँ भन्ने आशा छ ।

चौदण्डी नगरपालिकाका पूर्वमेयर खगेन्द्र राई भन्छन्–निर्णय गरेका हौँ, चुनावमा लागेपछि उपचारमा पठाउन सकेनौँ

५–६ महिनाअघि नै नगर कार्यपालिकाले नगरभरका मानसिक रोगीको तथ्यांक संकलन गरेर सबैको उपचार पालिकाले व्यहोर्ने निर्णय गरिसकेको छ । त्यसै निर्णयअनुसार दुई पुरुष र एक महिलालाई उपचारको व्यवस्था पनि भइसकेको छ । शिवराजलाई पठाउने तयारी हुँदै गर्दा चुनाव लाग्यो । यतै व्यस्त हुँदा पठाउन सकिएन । 

सुझावित समाचार