सशस्त्र प्रहरीका चार सय घुमुवा तानिए

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेकालाई मात्र सादा पोसाकमा खटाइने 

सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गरिएको छ । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ । 

सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई ‘घुमुवा’ फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । ‘अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ,’ डिआइजी खड्काले भने, ‘सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।’

विदुर खड्का प्रवक्ता, सशस्त्र प्रहरी
सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबै ‘घुमुवा’ फिर्ता गरिएको छ । अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ । सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

सादा पोसाकमा खटिने कतिपय कर्मचारी गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए । कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् । 

सशस्त्रको योजनाअनुसार सादा पोसाकमा अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेका मात्र खटिनेछन् । यसअघि कार्यालय प्रमुखका निकट प्रहरीलाई सादा पोसाकमा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता कर्मचारी गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार अब सादा पोसाकमा खटिने कर्मचारीको हकमा छुट्टै परिचयपत्रको समेत व्यवस्था गर्न लागिएको छ । 

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् । छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएका चार घुमुवाविरुद्ध तीन साताअघि बारामा पक्राउ पुर्जीसमेत जारी भएको छ । सशस्त्रका घुमुवाले हतियार डिल गरेर पक्राउ गर्न खोजेका घुमुवालाई नेपाल प्रहरीले पक्राउ गरेपछि हतियार कारोबारमा सशस्त्रका घुमुवाको समेत मिलेमतोको आशंकामा पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानको क्रममा मिलेमतो नदेखिएपछि उनीहरूलाई मुद्दा नचलाउने सहमति भएको स्रोत बताउँछ । 

सीमा क्षेत्रमा तस्करीका घटनामा सशस्त्रका घुमुवा मुछिँदै आएका छन् । गत वर्ष महोत्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुमुवाका रूपमा खटिएका वरिष्ठ हवल्दार राजीशरण साहलाई पाँच हजार घुससहित पक्राउ गरेको थियो । सामान पास गरिदिने भन्दै उनले घुस लिएका थिए । त्यस्तै, रौतहटमा जवान अरुण झालाई ३० हजार घुससहित आयोगले पक्राउ गरेको थियो । दुई वर्षअघि बुटवलमा इन्स्पेक्टर र सइ ५० हजार घुससहित पक्राउ परेका थिए । 

सीमा क्षेत्रमा कार्यरत घुमुवा प्रहरीविरुद्ध अत्यधिक उजुरीसमेत पर्ने गरेका छन् । सोही कारण सादा पोसाकमा कार्यरत प्रहरीलाई शुद्धीकरण गर्न लागिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सुझावित समाचार