नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६२ वर्षको अवसरमा बुधबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इजरायलसँग नेपालले प्रविधिमा सहकार्य गर्न चाहेको बताएका छन् ।
बिपी कोइराला प्रधानमन्त्री हुँदा सन् १९६० जुन १ मा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बिपी कोइराला र इजरायली तत्कालीन प्रधानमन्त्री डेभिड बेन गुरियनको प्रयासमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल दक्षिण एसियाको पहिलो मुलुक हो ।
इजरायलले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको नेपालका लागि इजरायली राजदूत हानन गोदरले बताएका छन् । उनले नेपालसँग इजरायलको द्विपक्षीय र बहुपक्षीय समबन्धमध्ये द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको पनि स्मरण गरे ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इजरायलको स्वतन्त्रता र सार्वभौमसत्तालाई नेपालले सधैँ समर्थन गर्दै आएको बताए । उनले इजरायललाई नेपालले सधैँ समर्थन गर्ने पनि बताए ।
पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि इजरायलको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताका पक्षमा नेपाल उभिएको बताए । इजरायललाई कुनै आशंका भए नेपाल छलफलका लागि खुला रहेको पनि उनको भनाइ थियो ।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा अन्जान शाक्यले नेपालका सातै प्रदेशमा कृषि क्षेत्रमा सहकार्यका लागि सातवटा एक्सलेन्स सेन्टर स्थापना गर्न नेपाल र इजरायलबीच समझदारी-पत्रमा हस्ताक्षर भएको स्मरण गरिन् ।