ठेकेदारले पालिका भवन गुणस्तरहिन बनाएको भन्दै भुक्तानी रोक्ने जनप्रतिनिधीकाे निर्णय

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण
ठेकेदारले पालिका भवन गुणस्तरहिन बनाएको भन्दै भुक्तानी रोक्ने जनप्रतिनिधीकाे निर्णय

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन

दोधाराचाँदनीका जनप्रतिनिधीको पहिलो एक्सन 

कञ्चनपुरको दोधाराचाँदनीका नव निर्वाचित जनप्रतिनिधीले पालिका प्रशासनिक भवन निर्माण गर्ने ठेकेदार कम्पनीले गुणस्तरहिन भवन बनाएको भन्दै भुक्तानी रोक्ने निर्णय गरेका छन् । पालिका प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनी जोशी विल्डर्स प्रालिले चरम लापर्वाही गरी गुणस्तरहिन बनाएको भन्दै जनप्रतिनिधीले निर्माण सम्पन्न भएको कामको भुक्तानी रोक्ने निर्णय गरेका हुन् ।

नगर कार्यपालिका बैठकबाट पारित गरिएका निर्णय मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै दोधाराचाँदनीका नगर प्रमुख किशोर लिम्बुले भवन निर्माणमा अनियमितता भएको ठोकुवा गरे । ‘यो पालिका प्रशासनिक भवन निर्माणमा अनियमितता भएको हामीले पाएका छौँ, नगर प्रमुख लिम्बुले भने, ‘स्टमेट अनुरुप काम भएको छैन, त्यसैले ठेकेदार कम्पनीको भुक्तानी रोक्छौँ ।’

निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दै स्थानीय सरकार निर्माणाधिन भवनमै सरेको छ । गत भदौँदेखि पालिका कार्यालय नयाँ भवनमा सरेको हाे । कर्मचारीका अनुसार हालसम्म पनि भवनको औपचारिक हस्तान्तरण भएको छैन । तर, कामकाज नयाँ भवनबाटै भईरहेको छ । 

‘भवनमा प्रयोग भएका सबै सामान गुणस्तरहिन  भएको पाएका छौँ, नगर प्रमुख लिम्बुले भने, ‘भवनमा १६० पंखा जोड्नुपर्ने हो, ६० वटा मात्रै जडान भएका छन्, ती पनि बिग्रीसकेका छन् ।’ सामान्य हावाहुरी र पानी पर्दा समेत झ्यालबाट सिधै पानी भित्र परेर क्षति भईरहेको बताउँदै नगर प्रमुख लिम्बुले कोठाहरु बस्न लायक नै नभएकाले ठेकेदार कम्पनीकाे भुक्तानी राेकिएकाे बताए ।

‘यस्तो भवन निर्माण गर्दासम्म कार्यालयकै ईन्जिनियर र प्राविधिकले साईड हेरेका थिए भन्ने छ, कसरी हेरेका होलान ?', नगर प्रमुख लिम्बुले भने, ‘यस्तो अनियमितता हुँदा पास किन गरेका हाेलान् ?’ भवन निर्माण कार्य सन्तोषजनक नभएकै कारण ठेकेदार कम्पनीको हालसम्म गरेको कामकाे भुक्तानी रोक्ने निर्णय भएको बताउँदै उनले बजेट अनुसार भवन निर्माण कार्य र सामाग्री प्रयोग नभए ठेकेदारलाई भुक्तानी नदिई कारवाही गरिने उनले चेतावनी दिए ।

यता, निर्माण कम्पनी जोशी विल्डर्स प्रालिका संचालक गणेश दत्त जोशीले भवन निर्माणमा कुनै कसर बाँकी नराखिएको बताए । ‘भवन हामीले पुरै स्टमेट अनुसार बनाएका छौँ, उनले भने, ‘कसैले हचुवाकाे भरमा गुणस्तरहिन छ भन्दैमा कहाँ हुन्छ ? गुणस्तरहिन छ वा छैन त्यो नापजाँच गर्ने आधिकारिक निकाय चाहियो ।’ संचालक जोशीले भवन हस्तान्तण भईरहेको बताउँदै काम गरे बापतकाे १ करोड रूपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए । ‘एक वर्षभित्र भवन केही भएमा मर्मतको दायित्व हाम्रो हुन्छ उनले भने,  त्यसैले आरोपका लागि आरोप लगाउने काम कसैले नगराैं।’ 

थप अन्य निर्णय

नवनिर्वाचित जनप्रतिनिधीले प्रशासकीय भवन निर्माणमा अनियमितता भएको भन्दै भुक्तानी रोक्ने निर्णयसंगै थप अन्य निर्णय पनि गरेका छन् । जस्तै: समाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने, सुत्केरी महिलालाई नि:शुल्क महाकाली प्रादेशिक अस्पताल पुर्याउने र ल्याउने, नगरभरीका गर्भवती महिलाको वडामै नि:शुल्क स्वास्थ्य चेकजाँच गराउने, नगरका सबै वडा कार्यालयमा नयाँ भवन निर्माण गर्ने निर्णय भएकाे छ । 

नगर प्रमुख लिम्बुले जनतालाई बाढीको जोखिमबाट जोगाउनका लागि महाकाली जोगबुढा नदीमा तटबन्ध निर्माणदेखि किसानको अन्नबाली सुरक्षित पार्नका लागि छाडा पशुचौपायाँ नियन्त्रणका योजना अघि सारेको बताए । कार्यक्रममा नगर उपप्रमुख गंगा जोशीले नगरका महिलालाई आत्मनिर्भर र हिंसाबाट मुक्ति दिलाउनका लागि सीपमुलुक तालिम प्रदान गर्दै आयआर्जनका लागि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरिन् । 

सुझावित समाचार