विद्यालय जाँदै गरेकी आठ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका– ७ खोटाङबजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ११ गते बिहान ९:३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई प्रहरीले लुकिछिपी हिँडिरहेको अवस्थामा खोटाङबजारबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त प्रधानमाथि एक्लै भएको मौका पारेर नाबालिकालाई समाएर बोकेर घारीमा लगेर संवेदनशील अंग समाउँदै भुइँमा लडाएर पेन्ट खोलेर जबर्जस्ती करणी गर्न खोजेको अभियोग लागेको छ । बलात्कार प्रयासका क्रममा नाबालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
नाबालिकामाथि बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै जेठ १३ गते बालयौन दुरुपयोग कसुरमा किटानी जाहेरी दिएकाे थियाे । पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
घटनापश्चात् फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले आइतबार पक्राउ गरेको जनाइएको छ । बलात्कार प्रयास भएपछि बालिकाले रुँदै–चिच्याउँदै प्रतिकार गरेकी थिइन्, तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर जबर्जस्ती बलात्कार प्रयास गरेको पीडित बालिकाले बताएकी छिन् ।
बल्लतल्ल बलात्कार हुनबाट फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको थियो । घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाएर मिलापत्र गराइएको थियो ।
तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेकाे थियाे । अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तले दाबी गरेका छन् ।