पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको होलिकोप्टरबाट ती शवहरू पोखरा ल्याइएको हो। घटनास्थलबाट सीधै काठमाडौं लैजाने भनिए पनि वर्षाका कारण हेली पोखरामा रोकिएको हो।
वर्षा रोकिएपछि हेलिकोप्टरमा इन्धन भरेर काठमाडौं लगिने पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। हाल पोखरामा वर्षा भइरहेकाले हेलिकोप्टर उडानमा समस्या भएको उनले बताए।
सबै शव फेला
घटनास्थलमा रहेका स्थनीय इन्द्रसिंह शेरचनका अनुसार २२ वटै शव फेला परिसकेको छ। १६ वटा शव घटनास्थलबाट कोवाङ झारिएको छ भने बाँकी शव झार्न बाँकी छ। घटनास्थलबाट डोरीको सहायताले शवहरू तल ल्याउन दुईवटा हेलिकोप्टर प्रयोग गरिएको छ। हुस्सु र कुहिरोका कारण मौसम खराब भएपछि घटनास्थलमा संकलन गरिएका शवहरू कोवाङ झार्न समस्या भएको हो।
आइतबारदेखि सम्पर्कविहीन भएको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाँउपालिका–२ स्थित सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। मानापाथी हिमालको फेदमा रहेको सानोसरे पहाडमा ठोक्किएर जहाज दुर्घटना भएको हो। घटनास्थल समुन्द्री सतहबाट करिब चार हजार तीन सय मिटरको उचाइमा छ।
त्यस क्षेत्रमा यार्सा टिप्न गएका बाग्लुङ घर भएका विशाल घर्तीले जहाज दुर्घटना भएको स्थान पत्ता लगाएका थिए। घर्तीसँगै यार्सा टिप्न गएकाहरूले आइतबार सो स्थानमा दुर्घटना भएको आशंका गरेका थिए। तर, प्रतिकूल मौसमका कारण उनीहरू आइतबार आशंका गरिएको स्थानतर्फ जान सकेका थिएनन्। घर्तीसँगै उनका साथीहरूले सोमबार बिहानैदेखि जहाजको खोजी सुरु गरेका थिए। सोमबार दुर्घटना भएको जहाज देखेपछि घर्तीले प्रहरीसँगै स्थानीयलाई खबर गरेका थिए। घर्तीले खबर दिएपछि घटनास्थलमा स्थानीयसँगै सेना र प्रहरी पुगेका थिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घर्तीसँगै उनका साथीहरूले जहाजको बारेमा जानकारीसँगै फोटो र भिडियो सार्वजनिक गरेपछि घटनास्थल पहिचान भएको थियो। त्यसपछि हवाई तथा पैदल मार्गबाट खोजी तथा उद्धारको काम सुरु भएको थियो।
सुरुमा घटनास्थलमा रहेका स्थानीय शेरचनले नयाँ पत्रिकासँगको टोलीफोन संवादमा दुर्घटनास्थलमा क्षतविक्षत अवस्थामा रहेको जहाजमा आगो नलागेको जानकारी दिएका थिए। जहाज टुक्राटुक्रा परेको अवस्थामा थियो भने शवहरूसमेत छरिएको अवस्थामा थिए।
दुर्घटना भएको कल साइन ९एन–एइटी जहाज आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको थियो। पोखराबाट जोमसोमसम्मको हवाई मार्गको दूरी करिब १८ देखि २० मिनेटको रहेको छ। १०ः१५ बजे जोमसोम अवतरण गर्नुपर्नेमा १०ः०७ बजेदेखि सम्पर्कविहीन भएको जहाजमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना सवार थिए। यात्रुमध्ये १३ जना नेपाली, दुईजना जर्मनी र चारजना भारतीय नागरिक रहेका थिए।