पूर्वपत्रकार दाहालको मृत्यु प्रकरण : छानबिन गर्न आफन्त र प्रेस युनियनको माग

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शंकास्पद भएको भन्दै उनका आफन्त र नेपाल प्रेस युनियन खोटाङले छानबिनको माग गरेका छन् । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ४, खाल्लेनिवासी ६३ वर्षीय दाहालकाे हत्या भएको भन्दै शनिबार दिक्तेल बजारमा विरोध प्रदर्शनसमेत भएको छ । 

दाहालको मृत्युका विषयमा तत्काल छानबिन गरी दोषी पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसमक्ष माग गर्दै मृतकका आफन्तले दिक्तेलस्थित जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयअगाडिसम्म नारा–जुलुससहित प्रदर्शन गरेका हुन् । मृतकका आफन्तले ‘मणिरामलाई न्याय दे’, ‘मोबाइल सार्वजनिक गर’, ‘घटनास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 

दाहाल दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयमा शुक्रबार बिहान मृत फेला परेका थिए । आफ्नै कोठामा शंकास्पद अवस्थामा मृत भेटिएका दाहालको शव शुक्रबार घटनास्थलबाट उठाएर जिल्ला अस्पतालमा राखेपछि शनिबार परीक्षण गरिएको थियो । तर, शव आफन्तले बुझ्न मानेका थिएनन् । घटनाको सर्जमिन मुचुल्का तयार पार्ने क्रममा दाहालको साथमा भएको मोबाइल हराएको भनिएपछि आफन्तले घटनालाई थप शंकास्पद भएको बताएका छन् । प्रहरीले वडाध्यक्षहरूको रोहवरमा सर्जमिन गर्दा दाहालले प्रयोग गर्दै आएका ‘सामसुङ जे सेभेन’ मोबाइल हराएको भनिएको स्थानीय नेत्र कटवालले बताए । 

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्त राजन पौडेलले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दाहालको शव उनी बसेको कोठाभित्र भुइँमा ओछ्यान लगाएर सिरकले ढाकिएको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटोभन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताएका छन् । दाहाल बस्दै आएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको, भुँइमा र्याल चुहिएको तथा नजिकै हथौडासमेत भेटिएको थियो । 

घटनाको प्रकृति हेर्दा बुबाको मृत्यु नभई हत्या भएकाले तत्काल दोषी पत्ता लगाएर कानुनी कारबाहीको माग गरिएको छोरा नवराज दाहालले बताए । ‘घटनाको प्रकृति शंकास्पद देखिएको छ,’ उनले भने, ‘घटनाका विषयमा सूक्ष्म ढंगबाट अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याएर कानुनी कारबाही गर्न माग गरिएको हो ।’

नेपाल प्रेस युनियन खोटाङले पनि घटनाको यथाशीघ्र अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन प्रहरी प्रशासनसँग माग गरेको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै युनियनले युनियन खोटाङका पूर्वसंस्थापक सदस्य एवं पूर्वअध्यक्ष दाहालको शरीरमा चोटपटक हुनु, भुइँमा सुतेको र सिरक ओढेको, नाक तथा मुखबाट रगत बगेको अवस्थामा भेटिनुले अप्राकृतिक ढंगले मृत्यु भएको देखिएको बताएको छ । 

‘स्मरण रहोस्, उहाँ बसोवास गर्दै आएको स्थान नै प्रहरीको सुरक्षा घेरासँग जोडिएको सबैलाई थाहा छ,’ युनियनका जिल्ला सचिव चिसाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य पत्ता लगाई चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौँ ।’

घटनाको विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । ‘घटनास्थलमा खटिएका प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद नै देखिएको छ,’ उनले भने, ‘घटना शंकस्पद भएकाले तत्काल सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नका लागि प्रहरी निरीक्षक चौधरीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर अनुसन्धानलाई अगाडि बढाइएको छ ।’

छलफलमा समितिमार्फत यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने निर्णय भएपछि मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए । शनिबार साँझ आफन्तले जिम्मा लिएका दाहालको शव आइतबार दाहसंस्कार गर्ने तयारी गरिएको जनाइएको छ । 

तर, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको अध्यक्षतामा शनिबार जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय भेलाले गठन गरेको छानबिन समितिमाथि समेत मृतकका आफन्तले आशंका व्यक्त गरेका छन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षककै अगाडिबाट मोबाइल लुकाइएकाले सोही व्यक्तिको नेतृत्वमा गठन भएको छानबिन समितिले यथार्थ प्रतिवेदन नल्याउने उनीहरूको आशंका छ । 

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सहसंयोजक हुन् । पछिल्लो समय राजनीतिमा सक्रिय दाहाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष, कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष थिए ।

See More On

सुझावित समाचार