अझै केही दिन वर्षाको सम्भावना

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

अझै केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९.२ डिग्री र सबैभन्दा धेरै डडेल्धुराको अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस रहेको छ। रासस

सुझावित समाचार