प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई अबको निर्वाचनबाट प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।
‘प्रतिपक्षी दलको नेता, जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो, एक्लै भएको हुँ भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन । पहिलोचोटि पनि माओवादी केन्द्रको, तपाईंको भाषामा बैसाखी टेकेर हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ! अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस्, तपाईंलाई मानिन्छ, तपाईं एमालेको हुनुहोला,’ उनले भने ।
संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमा जनताले सन्देश दिएको भन्दै प्रचण्डले एमालेको आलोचना गरे । प्रचण्डले ओलीबाहेक एमालेका अन्य नेता–कार्यकर्तासँग मिलेर काम गर्न कठिन नभएकोसमेत बताए ।
‘एमालेका धेरै नेता कार्यकर्ताप्रति अहिले पनि मलाई भरोसा छ, विश्वास छ । एउटा प्रवृत्ति जसमा यति धेरै अहंकार, दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने अरू सबै एमालेका नेता–कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने देख्दिनँ,’ उनले भने । प्रचण्डले कर घटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताए । मूल्यवृद्धि नरोकिए भान्साबाटै विद्रोह सुरु हुन सक्ने उनको भनाइ थियो ।