पारिश्रमिक बढ्यो राष्ट्रिय क्रिक्रेटरको

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

क्रिकेट एसोसियसन नेपाल (क्यान) ले १ अप्रिलदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट पुरुष र महिला टोलीका खेलाडीको मासिक तलब वृद्धि गरेको छ । खेलाडीसँगै क्यानले मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र टियू मैदान पिच क्युरेटरको पारिश्रमिक वृद्धि गरेको हो । 

पुरुषतर्फ सेन्ट्रल कन्ट्र्याक्टमा रहेका सम्पूर्ण खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि भएको क्यानका कार्यवाहक सचिव मल्लले बताए । महिलातर्फ ए र बी श्रेणीमा रहेका खेलाडीको मासिक तलबमा ६ हजार वृद्धि भएको छ । महिलातर्फ सी श्रेणीमा रहेका खेलाडीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँ वृद्धि भएको छ । यसअघि पुरुषतर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ थियो ।

महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरको मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरको मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरको मासिक १० हजार रुपैयाँ तलब थियो । सम्पूर्ण मैदान कर्मचारीको मासिक पारिश्रमिक तीन हजार, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक पाँच हजारले वृद्धि गरेको क्यानले जनाएको छ । टियू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ । 

राष्ट्रिय टोलीका ६ क्रिकेटरलाई ज्यापको प्रायोजन 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ६ क्रिकेटरलाई भारतीय कम्पनी ज्याप क्रिकेटले खेल सामग्री प्रायोजन गरेको छ । ज्यापले राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, युवा क्रिकेटर सुनील धमला, भीम सार्की, देव खनाल र आदिल अन्सारीलाई एक वर्षका लागि खेल सामग्री प्रायोजन गरेको हो ।

नेपाल टी–२० लिग खेल्ने टोली सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक गरेको छ । क्यानको बोर्ड बैठकले लिग खेल्ने ६ टोलीको नाममा निर्णय गरेको हो ।
विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमले नेपाल टी–२० लिग फ्रेन्चाइज खेल्ने पक्का गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले बताए । क्यानले ४ जेठमा पत्रकार सम्मेलनमार्फत नेपाल टी–२० लिग फ्रेन्चाइजको औपचारिक घोषणा गरेको थियो । प्रतियोगिता ८ असोजदेखि ५ कात्तिकसम्म हुनेछ ।

 बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिएको छ । क्यानले नेपाल टी–२० लिगबाहेक अन्य कुनै पनि टी–२० लिगलाई राष्ट्रिय मान्यता नदिने पुनः प्रस्ट पारेको छ । क्षेत्रीय लिग संरचनामा सञ्चालन गर्ने हो भने अनुमति दिन सकिने क्यानले जनाएको छ । क्यानको निर्णयसँगै नेपालमा सञ्चालनमा रहेका एभरेस्ट प्रिमियर लिग (इपिएल), पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगलगायतले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् । 

सुझावित समाचार